बेल्ट एन्ड रोड परियोजनामा भारतको समर्थन लिन विफल



बेइजिङ, (एजेन्सी)
चीन–भारत विदेशमन्त्रीस्तरीय बैठकको अन्तिम समयसम्म पनि चीनले भारतबाट आफ्नो महत्त्वाकांक्षी बेल्ट एन्ड रोड इन्फ्रास्ट्रक्चर इनिसिएटिव परियोजनाका लागि समर्थन प्राप्त गर्न विफल भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति सी जिनपिङबीच चीनको वुहान शहरमा अनौपचारिक शिखरवार्ता हुन गइरहेको छ ।

बेल्ट एन्ड रोड इनिसिएटिव चीनका राष्ट्रपति सी जिनपिङले अगाडि सारेको अत्यन्त महŒवाकांक्षी परियोजना हो । भारतले यस परियोजनाको महत्त्वपूर्ण भाग सीआरपीसीमा हस्ताक्षर गरेको छैन । सीआरपीसी (चाइना–पाकिस्तान इकोनोमिक कोरिडोर)मा करिब ५९ अर्ब डलरको परियोजना हो । उक्त राजमार्ग पाकिस्तान अधिकृत कास्मिर भएर गएको छ । भारतले पहिले नै क्षेत्रीय सम्प्रभुताको मुद्दा उठाउँदै त्यसमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

यस मुद्दामा भारतलाई मनाउन सक्षम हुने वा नहुने भन्ने विषयमा मोदी र सीबीच शुक्रबार र शनिबार हुने अनौपचारिक बैठकमा देखिने विज्ञहरुले बताएका छन् ।भारतका विदेशमन्त्री सुषमा स्वराजले सांघाइ सहयोग संगठनअन्तर्गत विदेशमन्त्रीको बैठकपछि जारी गरेको विज्ञप्तिमा बेल्ट एन्ड रोडको समर्थनका विषय उल्लेख गरेको छैन । पाकिस्तानसँगै भारतले उक्त समूहमा गत वर्ष प्रवेश गरेको हो ।

कजाकिस्तान, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तानले चीनको बेल्ट एन्ड रोड परियोजनाको प्रस्तावलाई स्वीकृति दिइसकेका छन् । गतवर्ष भारत र चीनका सेनाबीच सीमा इलाका डोकलामको मुद्दामा ७३ दिनसम्म मुठभेडको स्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्