वैशाख १४ पार्टी एकीकरणको नयाँ मिति



चितवन, (नेस)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १४ गते पार्टी एकीकरणको नयाँ मिति घोषणा गरिने बताउनुभएको छ। मंगलबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वैशाख १४ भित्र सबै समझदारी हुने र लगत्तै पार्टी एकीकरणको मिति घोषणा हुने बताउनुभयो।

उहाँले पार्टी एकीकरणमा कुनै जटिलता नभएको भन्दै दुई अध्यक्षको व्यस्तताले एकीकरणमा ढिलाइ भएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो– ‘एकीकरणमा कुनै जटिलता छैन, दुई अध्यक्षले प्रशस्त समय निकाल्यौं भने छिट्टै टुंगोमा पुग्छौं।’ अध्यक्ष प्रचण्डले केही दिन ढिलाइ हुँदैमा केही नहुने भन्दै एकीकरणपछि पछुताउनुभन्दा अघि नै समय लिनु राम्रो भएको जिकिर गर्नुभयो।

 

उहाँले वैशाख महिनाभित्रै एकीकरण हुने दाबीसमेत गर्नुभयो।
अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले २ देशबीचको सम्बन्धमा सन्तुलन ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मोदी जनकपुर र मुक्तिनाथ पनि जाने भएकाले २ देशबीचको सम्बन्ध झन् सुधार हुँदै गइरहेको अनुभूति भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्