चीनलाई प्रदान गरिने गैंडाको ‘रेकी’ शुरू



टीका बन्धन, काठमाडौं
नेपालले छिमेकी मुलुक चीनलाई उपहारस्वरूप गैंडा प्रदान गर्ने प्रक्रिया अघि बढाएको छ। गैंडाका लागि आवश्यक खोर (बुमा) तयार गरेर गैंडा नियन्त्रण गर्न प्राविधिकहरूले चितवन राष्ट्रिय निकुञ्जमा ‘रेकी’ शुरू गरेका छन्।

चीनलाई प्रदान गरिने एक जोडी भाले र एक जोडी पोथी गैंडा नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारी र आसपासको क्षेत्रमा केही दिनयता अनुगमन शुरू गरिएको हो। चारवटा हात्तीसहित निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक गत बिहीबारदेखि नियमितरूपमा अनुगमनमा खटिएका निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो।

‘गैंडाको चहल–पहल राम्रो भएको निकुञ्जको पश्चिमी क्षेत्रमा रेकी भइरहेको छ, माउ र बच्चा सँगसँगै देखिएका छन्, तर बच्चाको लिंग पहिचान हुन बाँकी भएकाले नियन्त्रणमा लिइएको छैन।’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो। एकदेखि दुई वर्षका गैंडालाई नियन्त्रणमा लिएर दुई फरक प्रकृतिका बुमाको ‘अर्धप्राकृतिक वातावरण’मा घुलमिल हुन सिकाएर करिब ३ महिनापछि चीनलाई औपचारिकरूपमा गैंडा हस्तान्तरण गरिने ढकालले बताउनुभयो।

डार्ट गरेर नियन्त्रणमा लिइने गैंडालाई करिब ३ साता जमिनमा खाल्टोको स्वरूपमा तयार गरिएको बुमा र त्यसपछि एक महिनाभन्दा बढी कंक्रिट प्रयोग गरिएको आधुनिक खोरमा घुलमिल हुन सिकाइनेछ।

माउबाट छुट्टिएर आफैं विचरण गर्न शुरू गरेको गंैडालाई अद्र्धप्राकृतिक वातावरणमा घुलमिल गराउन केही कठिनाइ हुने भएकाले माउसँगै घुलमिल भइरहेका बच्चा गैंडालाई नियन्त्रणमा लिन प्राविधिक खटिएका हुन्।

नेपालका गैंडा चीनले समेत त्यहाँको ग्वान्जाउस्थित अद्र्धप्राकृतिक वातावरणको सफारी पार्कमा राख्ने तयारी गरेकाले निकुञ्जले २ महिनाभन्दा बढी खोरमा घुलमिल हुने सिकाउने तयारी गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकाल (२०७३ असार अन्तिम साता) को मन्त्री परिषद्को बैठकले चीनलाई उपहारस्वरूप गैंडा प्रदान गर्ने निर्णय गरेको थियो। चिनियाँ प्रस्तावमा नेपालले यस्तो निर्णय गरेको हो।

अहिले गैंडाको रेकी र खोर निर्माण शुरु भएसँगै चीनको ग्वान्जाउस्थित सफारी पार्कका सहायक प्रबन्धक एवं वन्यजन्तु व्यवस्थापन विज्ञ याङ हेन्डोङ गत बिहीबारयता चितवन निकुञ्जमा रहनुभएको छ। प्राकृतिक बासस्थानका गैंडाको आनीबानी, नियन्त्रण गर्ने विधि र अन्य पक्षको स्थलगत अध्ययन÷अवलोकन गर्न उहाँ नेपाल आउनुभएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

गत साउनको बाढीले बगाएर उद्धार गरिएको करिब १ वर्षको भाले गैंडा अहिले निकुञ्जका प्राविधिकहरूको निगरानीमा छ। त्यसैले अब थप १ भाले र २ पोथीलाई नियन्त्रणमा लिइने विभागका सूचना अधिकारी नारायण रूपाखेतीले जानकारी दिनुभयो। गत वर्ष चीनबाट आएका वन्यजन्तु विज्ञको टोलीले समेत चितवन निकुञ्जका गैंडाको अध्ययन÷अवलोकन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्