भूकम्पपछिको पुनर्निर्माण



मोतीराम तिमल्सिना, काभ्रे

भुकम्प गएको ३ वर्ष पुग्न लाग्दासमेत निजी आवास निर्माणले गति लिन सकेको छैन। जिल्लामा भएको भूकम्पको क्षतिअनुसार ७ प्रतिशत निजी आवास निर्माण भएको तथ्यांक सार्वजनिक गरिएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीको सूचीमा राखेको ७२ हजार ४ सय १७ भूकम्पपीडितमध्ये ६६ हजार ४ सय २ जनाले पहिलो किस्ता प्राप्त गरेका छन्। पहिलो किस्ता लिएर घर निर्माण गर्नेमध्ये सबैभन्दा धेरै महाभारत गाउँपालिकाका भूकम्पपीडित रहेका छन्।

उक्त गाउँपालिकामा ७५.६२ प्रतिशत भूकम्प पीडितले आवास निर्माण गरिसकेका छन्। सबैभन्दा कम नमोबुद्ध नगरपालिकामा १२ प्रतिशत भूकम्पपीडितले आवास निर्माण गरेका छन्।

खानीखोला गाउँपालिकामा ६० प्रतिशत नागरिकले पुनर्निर्माण गरेका छन्। शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा पीडितले आवास निर्माण गरेको तथ्यांकले देखाएको छ।

पहिलो किस्ता लिएर दोस्रो किस्ता प्राप्त गर्ने पीडितको संख्या २८ हजार ५ सय २६ पुगेको छ। दोस्रो किस्ता लिएर घर निर्माण सम्पन्न गर्ने भूकम्पपीडितमध्ये ७ हजार ९ सय ४६ ले तेस्रो किस्ता प्राप्त गरिसकेका छन्। यो संख्या एनजीओ तथा आईएनजीओहरू मार्फत प्राप्त अनुदानको समेत तथ्यांक हो।

जिल्लाको कुल तथ्यांकले भूकम्पपीडितमध्ये ७ प्रतिशत पीडितले मात्रै आवास निर्माण गरेका छन्। भूकम्पपछि जिल्लामा महŒवपूर्ण ३ वटा सडक निर्माण भइरहेका छन्। खोपासी–च्याम्ब्राङ्बेंसीको १४ किमि सडकको ७० प्रतिशत काम सकिएको छ भने कुन्ताबेंसी–नयाँगाउँ सडकको काम २० प्रतिशत मात्रै सम्पन्न भएको छ। हिगुवापाटी सडकको काम भर्खर शुरू भएको छ।

भूकम्प पुनर्निर्माण समन्वय मञ्च नेपालको आयोजनामा जिल्लामा भइरहेका भूकम्पपछिको पुनर्निमाणका अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण धुलिखेलका प्रमुख धु्रव गैडाको अध्यक्षतामा भएको कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माको प्रमुख आतिथ्यतामा रहेको थियो।

कार्यक्रममा जिल्लामा सरकारीस्तरबाट भएको पुनर्निर्माण तथा एनजीओ र आईएनजीओ मार्फत भएका गतिविधिका बारेमा जानकारी गराइएको थियो। हेल्बिटास, सबल, कारितास, धुलिखेल रोटरी, हेविटाट, विउल्ड चेन्ज, नेपाल रेडक्रस, सेभ द चिल्ड्रेन, उज्यालो नेपाललगायतले स्थानीयस्तरमा पुनर्निर्माणको कार्य गरिरहेका छन्।

गुम्बा निर्माणका लागि १ सय १२ वटा गुम्बाको पुनर्निर्माणका लागि सिफारिस गरिएको छ। भूकम्पपीडितले गुनासो समयमै सम्बोधन नभएका कारण हरेक दिन त्यसको जानकारी माग्न फोन गरेर हैरानी गरिरहेको प्रमुख धु्रव गैडाले बताए। प्राविधिक समयमै स्थानीयस्तरमा नपुग्दा, समयमै भुक्तानी हुन नसक्दा र माग गरिएअनुसारको भुक्तानी दिन कागजात भेरिफाई नहँदा जिल्लास्तरमा समस्या भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्