कहिले बन्छ कान्ति लोकपथ ?



सुरेश तामाङ, काठमाडौं

काठमाडौंसँग जोड्ने वैकल्पिक राजमार्ग कान्ति लोकपथ निर्माणमा तोकिएको समयसीमाभित्र सम्पन्न नहुने भएको छ। काठमाडौं–तराई जोड्ने वैकल्पिक मार्गका रूपमा विस्तार भइरहेको कान्ति लोक पथ सडक सुधार योजनाको समय अवधि सकिन ३ महिना मात्रै बाँकी रहँदा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। ३ महिनाको अवधिमा ३५ प्रतिशत काम सम्पन्न गर्न कठिनाई हुने आयोजनाले बताएको छ।

३ महिनाको अवधिभित्र सडक सुधारको सम्पूर्ण काम सम्पन्न भएर काठमाडौं–तराई सवारी आवत–जावत गराउने लक्ष्य रहे पनि ठेकेदारको लापरबाहीका कारण समयभित्र नै लोकपथ निर्माण नहुने भएको छ।

६ दशक लामो इतिहास बोकेको योजनाले पछिल्लो ३ वर्षदेखि मात्रै काममाा गति लिएको थियो। तर, आगामी ३ महिनाभित्र सम्पन्न गर्नुपर्ने ७९ किलोमिटर सडक सम्पन्न हुन १ वर्ष लाग्ने बताइएको छ। ३ वर्षको अवधिमा ६५ प्रतिशत काम सम्पन्न गरेको योजनाले ३ महिनाको अवधिमा काम सम्पन्न गर्न कठिन देखिएको छ। ‘६० वर्षभयो सडक बन्नथालेको छ, ३ वर्षदेखि भने केही आशालाग्दो कामभयो,’ स्थानीय चन्द्र तिम्सिनाले भने– ‘अब आयोजनाको योजना सक्न ३ महिना बाँकी छ।

३ महिनामा सबै काम सक्नेमा शंकै छ।’अहिलेसम्म विभिन्न खण्ड गरी १० किलोमिटर खण्डमा सडकको ट्र्याकलाई चौडा गर्न काम बाँकी नै रहेको छ। सडकको ट्र्याकलाई चौडा गर्नका लागि विस्फोटक पदार्थ नभई हँदैन। तर, नेपाली सेनासँग विस्फोटक पदार्थ किन्ने प्रक्रिया थालेको १ वर्षभन्दा बढी भए पनि विस्फोटक पदार्थ पाउन सकेको छैन। सेनाले समयमै विस्फोटक पदार्थ दिने तदारुकता नदेखाउँदा सडक चौडा गर्ने काम नै प्रभावित बनेको योजना प्रमुख देवेन्द्र शाहले बताउनुभयो।

‘हामीले सेनासँग पटक–पटक ताकेता गरे पनि विस्फोटक पदार्थ पाउन सकेका छैनौं’, योजना प्रमुख शाहले भन्नुभयो– ‘सेनासँग माग गरेको १ वर्ष बढी भइसक्यो अझै पाउन सकिएको छैन। जसले गर्दा सडक चौडाको काम प्रभावित भएको छ।’ विस्फोटक पदार्थको अभावमा लोकपथ निर्माणको काम अझै अन्योलतमा नै परेको बताइएको छ। लोकपथको सडक खण्डअन्तर्गत पर्ने रानीबास, काल्चे, मौरीभीरलगायतमा चौडा गर्न विस्फोटको आवश्यकता रहेको योजनाले जनाएको छ।

यस सडक खण्डको सडक चौडा, कालोपत्रेलगायतका सुधारका लागि विभिन्न ९ ठेकेदार कम्पनीसँग बहुवर्षीय ठेक्का प्रणालीअनुसार सम्झौता गरी काम गरिरहेको छ। विसं २०१३ सालमा शुरू भएर सुस्ताएको सडक विस्तारको कामलाई राज्यले पनि पछिल्लो आर्थिक वर्षदेखि प्राथमिकतामा राखेर काम शुरू गरेको भए पनि विस्फोटक पदार्थ र ठेकेदार कम्पनीहरूले लापरबाही गर्दा सडक निर्माणले गति लिन सकेको छैन।

उक्त सडक तत्कालीन राजा महेन्द्रले शिलान्यास गरेपछि यो राजपथ निर्माण शुरू गरिएको थियो। लोकपथ विस्तार भई सञ्चालनमा आउन योजनाले ३ अर्ब ३७ करोड बजेट अनुमान गरेको छ। आयोजनाको अनुसार ३ वर्षमा १ अर्ब रुपियाँ बराबर रकम खर्च भइसकेको छ।

आयोजनाले ललितपुर खण्डमा २ किलिोमिटरबाहेक सडक कालोपत्रे गर्न सकेको छैन भने मकवानपुर खण्डमा हालसम्म २० किमि सडक कालोपत्रे सम्पन्न गरेको योजनाले जनाएको छ।

लोकमार्ग सञ्चालनमा आएपछि ललितपुरको सातदोबाटो (चापागाउँदोबाटो) हँदै सुनाकोठी, चापागाउँ, टीकाभैरव, तीनपाने भञ्ज्याङ, झाँक्रीडाँडा, छपेली, काल्चे, बाग्मतीनदी, बगुवा, ठिंगन, मकवानपुरको आलेभञ्ज्याङ, बुद्धचोकसम्म (९० किमि) ३ घण्टामा पुग्ने योजनाको दाबी छ।

योजना सकिने अवधि ३ महिना मात्र बाँकी छ। ३ महिनाभित्र सडकको सम्पूर्ण काम सक्ने दाबी आयोजना प्रमुख शाहले गर्नुभयो। ‘सकेसम्म ३ महिनाभित्र काम सक्काउने लक्ष्यअनुसार अगाडि बढी रहेको छ,’ योजना प्रमुख शाहले भन्नुभयो– ‘३ महिनाभरिको कामको प्रगति हेर्छौं। त्यसपछि नसके समय थप्ने निचोडमा पुग्ने हो। सकेसम्म समय थप्न नपर्ला।’

कान्ति लोकपथ बनिसकेपछि ललितपुरको दुर्गम दक्षिणी–पूर्वी भेग र मकवानपुरका उत्तरी भेगका बासिन्दाको जीवनशैली परिवर्तन गर्ने विश्वास गरिएको छ। कृषि र पर्यटकीय क्षेत्रको विकास भई आर्थिक गतिविधिमा पनि यसले योगदान पुग्ने अपेक्षा गरिएको छ। उत्तर दक्षिण लिंक काठमाडौं–निजगढ दु्रतमार्ग, पूर्व–पश्चिम रेलमार्ग, निजगढ विमानस्थल, सिमरा नजिक बन्ने विशेष आर्थिक क्षेत्रमा सहयोग पु¥याउन सक्ने जानकारहरू बताउँछन्।

योजना कार्यालयले सडकको चौडाइ ३–५ मिटर रहेको र त्यसलाई साढे ८ मिटर चौडा गर्ने लक्ष्यअनुरूप योजनाले सडक चौडा गरिरहेको छ। यस कार्यका लागि योजनाले बहुवर्षीय ठेक्का प्रणालीमार्फत कन्टेक प्रालि, एससीसी मोतीदान जेभी, महालक्ष्मी एन्ड ब्रदर्स जेभी, कञ्चनजंगा गोल्डेन ग्रुप, हनुमान कन्स्ट्रक्सनलाई ठेक्का दिइसकेको छ। अहिले सडक कालोपत्रे गर्ने, चौडा गर्ने, सडकको संरचना तयार पार्ने, ग्रावेलिङ गर्नेलगायतका काम योजनाले एकसाथ गर्दै आइरहेको छ।

सडक चौडा पार्ने र सडक संरचना बनाउने कार्य अन्तिम चरणमा पुगेको योजनाको दाबी छ। ७९ किमि सडक खण्ड रहेको यस लोकपथमा ललितपुरको टीकाभैरव पुलदेखि मकवानपुरको बुद्धचोकसम्म जोडिएको छ।

प्रतिक्रिया दिनुहोस्