डमरुको डण्डीबियो कला र व्यावसायिकताको फ्युजन



रश्मी थापा

डण्डीबियो खेल लोप हँदै गएका बेला यो खेलका पारखीलाई बाल्यकालको झ–झल्को दिने फिल्म डमरुको डण्डीबियो आगामी २१ गते अल नेपाल रिलिज हँदै छ। सरकारले यस खेललाई राष्ट्रिय खेलको सूचीबाट हटाइसकेको छ, तर अघिल्लो पुस्तामा लोकप्रिय यो खेलबाटै नामाकरण गरी निर्माण गरिएको फिल्मको युनिट भने आफ्नो कामलाई दर्शकले रुचाउने कुरामा ढुक्क छ।

फिल्म रिलिज नजिकिँदै गर्दा आइतबार राजधानीमा एक अन्तरक्रिया कार्यक्रम राख्दै फिल्मको विषयमा जानकारी दियो। कार्यक्रममा बोल्दै फिल्मका लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले यस फिल्मका निर्देशक छेतन गुरुङबाट डण्डीबियोका बारेमा फिल्म बनाउने कन्सेप्ट आउँदा नामबाट नै आफू लोभिएको र कथा लेख्न शुरू गरेको बताए। ‘यस क्रममा डण्डीबियो खेलको नियम के रहेछ भनेर बुझ्दै जाँदा हामीले डण्डीबियो संघ नै रहेछ भन्ने कुरा पत्ता लगायौं र थप सजिलो भयो। यस संघका रवीन्द्र पन्तलगायतका साथीहरूले डण्डीबियो खेलको विभिन्न ठाउँमा ट्रेनिङ दिँदै आउनुभएको रहेछ र यसका लागि सरकारबाट बजेट पनि आउँदो रहेछ।

यो खेलको नियमका बारेमा पुस्तक पनि रहेछ। यसबाट हामीलाई कथा लेख्न सजिलो भयो। फ्यामिली ड्रामामा खेल ब्लेन्ड गरेर स्क्रिप्ट तयार ग¥यौं, तर यही बेला सरकारले डण्डीबियोलाई राष्ट्रिय खेलको सूचीबाट हटायो हामीले यसलाई पोजेटिभ हिसाबले नै हेर्यौं’, लामिछानेले भने– ‘किनभने त्यहाँ पनि एउटा कन्ल्फिक्ट क्रियट भयो। यो फिल्मका लागि पनि आवश्यक पक्ष हो।’ खगेन्द्रले आफूले सानो छँदा कुनै पनि खेल राम्रोसँग नखेलेको र डण्डीबियो भने खेलेको र फिल्ममा पनि एक खेलाडीका रूपमा देखिएकाले डण्डीबियोचाहिँ आफूले राम्रोसँग खेल्न सक्ने बताए।

‘लगभग १ महिनाको टे«निङ र सुटिङको क्रममा मलाई निकै रमाइलो लाग्यो। यस क्रममा बियोले लागेर मेरो नाकमा सानो चोट पनि लागेको थियो’, उनले भने– ‘यो फिल्म कला र व्यावसायिकताको फ्युजन हो।’ उनले रिसर्च गर्दै जाँदा डन्डीबियो भुटान, इन्डिया, वर्मालगायतका विभिन्न देशमा पनि खेलिन्छ भन्ने कुरा पनि पत्ता लागेको बताए। ‘खेल्ने तरिका र नाम फरक होला। तर, यसको प्रमोसन गर्दै जाने हो भने पछि गएर डण्डीबियो साउथ यसियन गेम बन्न पनि सक्छ’, खगेन्द्रले भने– ‘तर, फिल्म केवल डण्डीबियो खेलसँग मात्र सम्बन्धित छैन। यो पारिवारिक कथा हो।’

फिल्ममा डण्डीबियो प्रशिक्षकका रूपमा देखिएका अभिनेता अनुप बरालले खेलसम्बन्धी फिल्ममा फरक किसिमको भूमिकामा काम गर्दा केही नर्भस अनुभव गरेको बताए। ‘गरिरहेको भूमिकाभन्दा फरक भूमिकामा काम गर्दा थिएटरमा पनि नर्भस भएको अनुभव गरेको छु, यसमा पनि त्यस्तै भयो’, बरालले भने– ‘नाटकको प्रशिक्षण दिनभन्दा फिल्ममा डण्डीबियो प्रशिक्षककै भूमिका गर्न कठिन भयो।’

फिल्म लेखनबाट निर्देशनमा डेब्यु गरेका छेतन गुरुङले डण्डीबियो खेलको बारेमा अनुसन्धानका लागि नुवाकोटदेखि मनाङसम्म पुगेको बताए। ‘खासमा म आफूलाई लेखकभन्दा पनि कन्सेप्ट क्रियटरको रूपमा लिन्छु, मलाई नेपाली ठेट शब्दमा स्क्रिप्ट लेख्न आउँदैन।

त्यसैले यो फिल्म लेख्न खगेन्द्रजीलाई जिम्मा दिएको हँु’, उनले प्रस्ट्याए– ‘खेलको नियमकै रिसर्चको क्रममा हामीहरू विभिन्न ठाउँमा गयौं र पछि स्क्रिप्ट तयार गर्न खगेन्द्रजीलाई दिएपछि यसमा केही छ भन्ने लागेर यसै फिल्मबाट निर्देशनमा डेब्यु गरें। त्यति बेला मानिसहरूले मलाई डाइरेक्सन सिक्न सल्लाह दिन्थे तर सिक्नेभन्दा पनि मुख्य कुरा त कन्फिडेन्ट हो। यदि आफूमा काम गर्न सक्छु भन्ने कन्फिडेन्ट छ भने किन सिकिरहनु भनेर डेब्यु गरें।’ फिल्मका निर्माता विनोद गुरुङले फिल्मको विषय सुनेर नै आफू यसमा लगानी गर्न तयार भएको बताए।

‘अहिले लभ स्टोरी, कमेडी र फ्यामिली ड्रामाका फिल्मले सफलता पाइरहेका छन्। डमरुको डण्डीबियो खेल मात्रको फिल्म नभएर फ्यामली ड्रामा भएकाले यसमा लगानी गर्न रिस्क लागेन। हामीले फिल्मका लागि कुनै सम्झौता गरेका छैनौं।

प्रदेशस्तरीय डण्डीयोबियो प्रतियोगिताको दृश्यका लागि सातै प्रदेशका खेलाडी टिम र कोचसहितलाई हायर गरेर ९ दिनसम्म सुटिङ गरेका छौं। त्यो बेला सुटिङ अवधिभर करिब २ सय जना दर्शक पनि हायर गरेका थियौं। हालसम्म डेढ करोड खर्च भएको छ। तर, पनि लगानी सुरक्षित हुने कुरामा ढुक्क छौं।’ –उनले भने।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानारमा विनोद गुरुङको साथमा नोर्बु छिरिङ घलेको निर्माण रहेको फिल्ममा खगेन्द्र र अनुपका साथमा बुद्धि तामाङ, मेनुका प्रधान, लक्ष्मी बर्देवालगायतले अभिनय गरेका छन्। कालिप्रसाद बास्कोटाको संगीत रहेको फिल्ममा कालिप्रसाद, रिकेश गुरुङ र विद्या तिवारीको स्वर रहेको छ भने शब्द कालिप्रसाद, एकतारे र हर्क साउदको रहेको छ।

प्रतिक्रिया दिनुहोस्