आक्रमणकारीलाई कडा कारबाही होस्



मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको सांघातिक आक्रमण निन्दनीय छ। प्रमुख श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्छ। आक्रमणकारीलाई कारबाही, हरेक स्थानीय तहका जनप्रतिनिधिको सुरक्षाको व्यवस्था एवं काम गर्ने सहज वातावरण बनाउन नेपाल सरकार कटिबद्ध हुनु जरुरी छ।

– प्रदीप चापागाईं, स्याङ्जा

घुम्टे जाऔं, रमाएर आऔं

बागलुङको गलकोटस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गर्ने भएकोले पनि पर्यटक बढ्ने अवस्था आएको हो। पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा घुम्टे पर्न थालेकोे छ । यसलाई बाह्य पर्यटक भित्र्याउने गरी अझै सुन्दर बनाउनतिर सरकार लाग्नुपर्ने देखिएको छ। १० हजार ३ सय ९३ फिट उचाइमा रहेको घुम्टे प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक दृष्टिले महत्वपूर्ण छ ।

बर्सेनि हजारौं पर्यटकले घुम्टे चढ्ने गरेका छन् । विगतमा वैशाख पूर्णिमामा मात्र मेला लाग्ने घुम्टेमा विगत ६ वर्षदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’ समेत हँदै आएको छ । पर्यटन प्रवद्र्धनका गतिविधिले पर्यटकको आगमन पनि बढेको छ । प्राकृतिक सुन्दरतायुक्त घुम्टेको शिरमा अवस्थित सिद्ध र भैरवको मन्दिरले धार्मिक पर्यटनलाई पनि बढावा दिएको छ । पौराणिक किंवदन्तीसँग जोडिएका ती मन्दिरमा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वासमा टाढा–टाढाबाट भक्तजन यहाँ पुग्ने गर्छन् । पूजाआजा चल्ने सबै महिना र दिनमा मन्दिर दर्शन गर्न सकिने व्यवस्था छ । पदयात्रामा रमाउने पर्यटकका लागि पनि घुम्टे आकर्षक गन्तव्य बनेको छ ।

पदमार्ग, मन्दिरको स्तरोन्नतिलगायतका पूर्वाधारका काममा हालसम्म एक करोडभन्दा बढीको काम भएको छ । पर्यटन मन्त्रालय र स्थानीय जनश्रमदानमा काम भएको हो। पर्यटन पूर्वाधारका क्षेत्रमा थुप्रै काम गर्न बाँकी छ । अब त्यसमा ध्यान दिनु जरुरी देखिएको छ। घुम्टेलाई पर्यटकीय केन्द्र बनाउन राज्यले लगानी बढाउनुपर्ने देखिन्छ। प्राकृतिक सुन्दरता, हिमालमा सूर्योदय र सूर्यास्तका बेलका देखिने चमक, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसको घना जंगल आदि घुम्टेका सौन्दर्य हुन् ।

वसन्त ऋतुमा ढकमक्क फूल्ने लालीगुराँस हेर्नका लागि पनि पर्यटक घुम्टे चढ्न जानै पर्छ। सिद्धेश्वरको गुफा, राम्चे ओडार, गोठथरी, बुलाहा बाबाको आश्रम, भीमसेन लौरी, दमाहा ढुङ्गा, दह पानी, टोड्के पानी, नाङृभिर, पैराका सोतो शालिग्राम आदि घुम्टेका धार्मिक तथा पर्यटकीय आकर्षण हुन् । घुम्टेबाट गलकोटे राजाको दरबार, ‘स्टोन भिलेज’को रूपमा परिचित हरिचौर बजार, गाईघाटको झरना, गाजाको दह, गौदी र दरमखोलाका दर्जन बढी पुल, गुल्मीको टक्सार बजारलगायत दर्जनौं आकर्षकस्थल अवलोकन गर्न सकिन्छ ।
घुम्टे क्षेत्रमा डाँफे, मुनाल, काँडेभ्याकुरलगायत सयौँ थरीका चरा, कस्तुरी, मृग, घोरल, चित्तल, थार, भालुलगायतका वन्यजन्तु पाइन्छन् । चिराइतो, पाँचऔंले, भुत्केस, जटामसी, हनुमानवीर, गुजरगानो, पखनबेत, शिलाजित, परलचाल्नो, सतुवा, रौतेमुला, एक्लेवीरजस्ता औषधिजन्य जडीबुटी पाइन्छन् । घुम्टेकोे चुचुरोमा मल्म, पाण्डवखानी, हिल र हरिचौर गरी चारवटा नाकाबाट पुग्न सकिन्छ । हरिचौरको टेउवा, मल्मको टोकरी, पाण्डवखानीको सिद्धथानसम्म गाडी पुगे पनि त्योभन्दा माथि करिब तीन घण्टाको पदयात्रापछि घुम्टे पुग्न सकिन्छ । यस्तो मनोरम ठाउँको प्रचारप्रसार हुन सकेमा झन् पर्यटक भित्र्याउन सकिने अवस्था हुन्छ।

– मनोज खनाल, बाग्लुङ

किन मर्दै छन् गैंडा ?

सन् १९९८ यता चितवन राष्ट्रिय निकुञ्जमा अकालमा २ सय ६९ वटा गैंंडा मरेकामा पछिल्ला वर्षमा यो संख्या बढ्दै गएको सरकारी तथ्याङ्कले देखाउन थालेको छ। निकुञ्ज कार्यालयको तथ्यांकअनुसार सन् २०१४ मा ८ वटा, २०१५ मा १५ वटा, २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैंंडा मरेका छन् ।

गैंडाको संख्या थपिँदै जाँदा बासस्थानको व्यवस्थापन कमजोर हुने, रोग लाग्न सक्ने हँदा समयमै सजगता अपनाउन जरुरी देखिएको छ। दलदलमा फसेर, पानीले बगाएर, बाघले बच्चा खाएर, बूढो भएर पनि गैंडा मर्ने गरेका छन् । पानीका स्रोत घट्दै जानु, माइकेनियालगायतका अतिक्रमित झारका कारण घाँसे मैदान साँघुरिँदै जानु, रोगव्याधी लाग्न सक्ने हँदा समयमै उच्च सतर्कता अपनाउन जरुरी देखिएको छ।

यसअघि कालगतिकै कारण सन् २००० मा २८ वटा, सन् १९९९ मा १९ वटा र सन् २००३ मा १७ वटा गैंडा मरेका थिए । सन् २०११ मा १६ वटा गैंडा मरेका थिए भने अन्य वर्षमा ७ वटादेखि १४ वटासम्म गैंडा मरेको सरकारी तथ्याङ्क छ। यही २० वर्षमा चोरी सिकारीका कारण १ सय ७४ गैंडा मारिएका थिए । सबैभन्दा बढी सन् २००२ मा ३६ वटा, सन् २००३ मा ३० वटा, सन् २००५ मा १६ वटा र सन् २००० मा १५ वटा गैंडा चोरी सिकारीका कारण मारिएका थिए ।

पछिल्ला वर्षमा चोरी सिकारीका कारण कम गैंडा मरेका छन् । सन् २०११ यता पाँच गैंडा मात्रै चोरी सिकारीले मारेका थिए । चोरी सिकारी नियन्त्रण हँदै जाँदा पनि गैंडा मर्ने क्रम बढ्नु चिन्ताको विषय बनेको छ। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ गैंडा छन् । यी सबै गैंडाको उचित संरक्षण गर्नु जरुरी देखिएको छ।

– सन्तोष रेग्मी, चितवन

ध्रुवेलाई तह लगाऊ

मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले फेरि पाँचवटा घर भत्काइदिएको छ। धु्रवे हात्तीले भरतपुर महानगरपालिका–२३, खड्गौलीमा रामबहादुर दरै, शान्तकुमार दरै, बुद्धिराम दरै, मायाराम दरै र मगरा दरैको घर भत्काएको छ। राति घर भत्काउन थालेपछि सुरक्षा निकायको सहयोगमा हात्ती धपाइएको थियो । धु्रवे हात्ती केही दिनयता कसरा र सुखीभार क्षेत्रमा पोथी हात्तीसँगै बस्दै आएको थियो ।

विगत केही वर्षयता नेपाल र भारतमा गरी १५ जनाको ज्यान लिएको ध्रुवे हात्ती केही दिनअघि शुक्रनगर क्षेत्रमा पसेपछि निकुञ्जले लखेटेको थियो । दुई वर्षअघि निकै मातेर आतंक फैलाएको ध्रुवे यति बेला पुनः मात्तिन थालेको छ । यो विषयमा सरकार गम्भीर हुन जरुरी छ। हत्तीपीडितलाई राहत र हात्तीको उचित व्यस्थापन गर्नु जरुरी देखिएको छ।

– दशरथ न्यौपाने, चितवन

प्रतिक्रिया दिनुहोस्