नेपाल टेलिकमद्वारा विभिन्न अस्पताललाई कम्बल वितरण



काठमाडौं, (नेस) ।

नेपाल टेलिकमले १४औं वार्षिकोत्सवको अवसरमा घोषणा गरेअनुरुप संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न अस्पताललाई कम्बल उपलब्ध गराउनुका साथै केही सामुदायिक विद्यालयमा आइसीटी सेन्टर स्थापना गरिदिएको छ ।

कम्पनीले आफ्ना छ वटा क्षेत्रीय निर्देशनालयअन्तर्गत एक/एक स्थानका अस्पतालमा कम्बल वितरण गर्ने कार्यक्रम अनुसार कोसी अञ्चल अस्पताल विराटनगर, नारायणी अञ्चल अस्पताल वीरगन्ज, भक्तपुर क्यान्सर अस्पताल, भेरी अञ्चल अस्पताल नेपालगन्ज र महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई २५। २५ थान कम्बल उपलब्ध गराइसकेको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पनि छिट्टै कम्बल वितरण कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिकाका अग्निपीडितलाई पनि हालै २५ थान कम्बल वितरण गरेको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हालै एक कार्यक्रमकाबीच भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा.ऋषिकेशनारायण श्रेष्ठलाई कम्पनीको तर्फबाट २५ थान कम्बल हस्तान्तरण गर्नुभएको थियो । ती कम्बल अस्पतालका बिरामीका लागि उपयोग गरिने छ ।

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले वार्षिकोत्सवका अवसरमा घोषणा गरे अनुरुप सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो अस्पताललाई कम्बल वितरण गरिएको बताउँदै आगामी दिनमा सहयोगको दायरा अझ फराकिलो पार्न सकिने बताउनुभयो । उक्त अवसरमा अस्पतालका निर्देशक डा.ऋषिकेशनारायण श्रेष्ठले सहयोगको स्वागत गर्दै भविष्यमा थप अन्य क्षेत्रमा पनि सहयोगको हात अघि बढाउन आग्रह गर्नुभयो ।

त्यसैगरी भूकम्पबाट अति प्रभावित जिल्लाहरुलगायत अन्य ६ वटा जिल्लाका एक एक वटा सामुदायिक विद्यालयमा आइसीटी सेन्टर स्थापना गरिदिने कार्यक्रम अनुसार भूकम्प प्रभावित ११ वटा जिल्लामा कार्य सम्पन्न भइसकेको छ भने लमजुङ, डडेलधुरा, उदयपुर, जुम्ला र रुकुम जिल्लाका एक एक सामुदायिक विद्यालयमा निकट भविष्यमा नै आइसीटी सेन्टर स्थापनाका लागि तयारी अन्तिम चरण पुगेको छ ।

यसैबीच नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले शान्ति निकेतन माध्यमिक विद्यालय भक्तपुरमा कम्पनीको सहयोगमा स्थापना गरिएको आईसीटी सेन्टरको हालै शुभारम्भ गर्नुभयो । उक्त सेन्टरका लागि कम्पनीले ५ थान कम्प्युटर, ५ थान वेब क्याम, ५ थान माइक्रो फोनसहितको हेडसेट र १ थान थ्री इन वान प्रिन्टर उपलब्ध गराएको छ । सो प्रयोजनका लागि १ लाइन वाइम्याक्स डाटा कनेक्सन, वाइफाई राउटर र ओडियू सेट समेत उपलब्ध गराउनुको साथै इन्टरनेट चलाउनका लागि दुई वर्षसम्म मासिक रुपमा ३० जीबी डाटा निःशुल्क उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्