प्रदेश नं चारको नाम मुक्तिनाथ राख्न सुझाव



नेपाल समाचारपत्र, पर्वत ।
प्रदेश नं ४ को नाम गण्डकी, धौलागिरि वा मुक्तिनाथ राख्न पर्वतका सरोकारवालाले सुझाव दिएका छन् ।

प्रदेशको नामाकरणका लागि आएको सुझाब संकलन टोली संग ११ वटै जिल्लाको पहिचान हुने गरी प्रदेशको नाम मुक्तिनाथ राख्नुपर्ने सुझाव दिएका हुन् ।

हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहरसमेत मानिएको र विश्वमै परिचित धार्मिक एवं पर्यटकीयस्थल भएकाले मुक्ति क्षेत्रको नामबाट प्रदेशको नामाकरण गर्नु उचित हुने नामसमेत आएको छ । गण्डकी र धौलागिरीका बासिन्दाको साझा नाम मुक्तिनाथ प्रदेश हुने धारणा उनीहरुको थियो । प्रदेश नम्बर ४ को मुख्य पर्यटकीय क्षेत्र राउण्ड अन्नपूर्णमध्येको पनि मुक्तिनाथ सबैभन्दा परिचित धार्मिकस्थल भएकाले मुक्तिक्षेत्र राख्नुपर्ने सुझावसमेत दिइएको छ ।

यसबाहेक भगवान् विष्णुको अवतार मानिने विश्वकै ठूलो शालिग्राम शिला रहेको प्रदेश र कालीगण्डकी नदीमा मात्र पाइने भएकाले शालिग्राम प्रदेश राख्दा पनि सबैको लागि साझा नाम हुने प्रस्ताव गरिएको छ । त्यस्तै, दामोदरकुण्डदेखि तराईका जिल्लासम्म पुगेको कालीगण्डकी जुन कृष्णगण्डकी नामले पनि परिचित छ, यो नाम राख्न पनि सकिने सुझाव सहभागीले दिएका छन् । उनीहरुले प्रदेश राजधानी भने पोखरामै उपयुक्त हुने सुझाव दिएका थिए ।

पर्वतमा विशेष गरी हिमालय, गण्डकी वा कालीगण्डकी, र मुक्ति क्षेत्रको नाम प्रस्ताव गरिएको थियो । त्यस यसबाहेक धौलागिरि, शालिग्राम, कृष्णगण्डकी, वा मध्य प्रदेश राख्न समेत सरोकारवालाको सुझाव रहेको छ । तर अधिकाँशले मुक्तिनाथ वा मुक्तिक्षेत्र राख्दा दुबै प्रदेशमा बिबाद नहुने धारणा राखेका थिए ।

प्रदेश नम्बर ४ का अधिकांश जिल्ला हिमाली भेगसँग जोडिएको र अग्ला हिमशृंखला यस क्षेत्रको पहिचान भएकाले हिमाल प्रदेशनै सबैको साझा नाम हुने सुझाव सरोकारवालाले दिएका छन् ।

त्यसैगरी, नेपालकै लामा र ठूला नदी पनि यस प्रदेशमा पर्ने भएकाले गण्डकी प्रदेश राख्न पनि सकिने उनीहरुको तर्क छ । नेपालमै पवित्र मानिएको कालीगण्डकी नदी, जहाँ शालिग्राम शिलासमेत पाइन्छ, त्यस्तै सेती गण्डकी लगायतका नदी रहेको स्थान र यसभन्दा अघि तत्कालीन माओवादीले गण्डक प्रदेशसमेत नामाकरण गरिसकेकाले गण्डक प्रदेश राख्न सकिने पनि सुझाव आएको छ ।

पर्वतमा सुझाव संकलनका लागि प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा, सावित्री राना र जुनादेवी नेपालीसहितको कर्मचारीको टोली खटिएको हो । पर्वतमा आएका सुझावलाई प्रदेशसभामा लैजाने र सकेसम्म यस क्षेत्रबाट गएका नामकै आधारमा नामाकरण गर्नका लागि पहल गर्ने सांसदले बताए ।

प्रतिक्रिया दिनुहोस्