विश्वकै दुर्लभ गिद्धको गुँड भेटियो



नरेन्द्र केसी, घोराही, दाङ ।

संसारकै दुर्लभ गिद्ध दाङमा पहिलोपटक बच्चा हुर्काउदै गरेको भेटिएको छ । लोपोन्मुख सानो खैरो प्रजातिको गिद्धको गुड दाङमा पहिलोपटक भेटिएको हो ।

घोराही उपमहानगरपालीका वडा नं. १ को रामपुरबुकामा यसको गुड भेटिएको छ । बुकामा रहेको चरिङ्ेताल जाने बाटोमा रहेको एउटा ठूलो साजको रुखमा २ वटा सानो खैरो गिद्धको गुडमा सानो खैरो गिद्धले बच्चा हुकाइरहेको भेटिएको हो । दाङ उपत्यकामै पहिलोपटक गिद्धमा विधावारिधि गरिरहेका षडानन्द पौडेल र वन विज्ञान अध्ययन गर्दै गरेका सुमन घिमिरेले दाङमा पहिलोपटक गुड भेटाएका हुन् ।

विश्व पंक्षी संरक्षण संघले यो गिद्धलाई अतिसंकटापन्न अवस्थामा रहेको प्रजातिको रुपमा राखेको छ । दाङमा भेटिएका दुइवटा गुडमध्ये एउटामा बच्चा उड्ने तयारीमा रहेको र अर्कोमा बच्चा सानो नै भएकाले बच्चा हुर्कन अझै केही महिना लाग्ने दाङमा गिद्ध संरक्षण गर्दै आएको संस्था पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिनुभयो । यो संस्थाले यहाँ जैविक विविधता संरक्षणका लागि काम गरिरहेको छ ।

यो क्षेत्रमा गिद्धले असोजदेखि गुड बनाउन शुरु गरी जेठ महिनासम्म बच्चा उडाउने गरेको नेपाल पंक्षी संरक्षण संघका भुपाल नेपालीले जानकारी दिनुभयो । गिद्धले एक सिजनमा एउटा मात्र बच्चा निकाल्ने गरको छ । ७५ दिन ओथारो बसेपछि बच्चा दिने र ओथारो वसेको १ सय २० दिनमा बच्चा उडाउनसक्ने नेपालीले जानकारी दिनुभयो ।

मरेका जनावर र कुहिएका सिनो खाने भएकाले गिद्धलाई प्राकृतिक कुचिकार भनिन्छ । पछिल्लो समयमा यसको संख्या ९९ प्रतिशतसम्म घटेपछि संरक्षणको अभियान पनि सँगसँगै थालिएको छ । गिद्ध संरक्षणका लागि छ जिल्लाका सात स्थानमा गिद्ध रेष्टुरेण्ट स्थापना गरी संरक्षणको काम भइरहेको राष्ट्रिय गिद्ध संरक्षण सञ्जालका अध्यक्षसमेत रहेका रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार दाङको बिजौरी र लालमटीय, नवलपरासीको कावासोती, रुपन्देहीको गैडाताल, कास्कीको घाचोक, सुनसरीको रामधोनी सामुदायी वन र कैलालीको खोटियामा गिद्ध रेष्टुरेण्ट रहेका छन् ।

त्यसका लागि पशुपंक्षीमा प्रयोग हुने डाइक्लोफेनेक औषधि पनि सरकारले प्रतिबन्ध लगाइसकेको छ । नेपाल सरकारले यो औषधिको उत्पादन वितरण र प्रयोगमा पूर्ण प्रतिवन्ध लगाएको छ । विभिन्न संस्थाको सहयोगमा नेपाल पन्क्षि संरक्षण संघले ६१ जिल्लामा अर्थात १ लाख २३ हजार ८ सय ९८ वर्गकिलोमिटर क्षेत्रफललाई डाईक्लोफेनक नामक औषधि मुक्त क्षेत्र घोषणा गरिएको छ ।

नेपालमा हाडफोर, सेतो गिद्ध, डंगर गिद्ध, सानो खैरो गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध, राज गिद्ध, सुन गिद्ध र लामो ठुडे गरेर ९ प्रकारका गिद्ध पाइन्छन ।

यीमध्ये डंगर र सानो खैरो प्रजातिको गिद्ध लोप हुने अवस्थामा रहेको संरक्षणकर्मीहरुले वताएका छन् । संसारमा २३ प्रजातिका गिद्ध पाइन्छन भने दक्षिण एशियामा ९ प्रजाति र नेपालमा पनि ९ प्रजातिका गिद्ध पाइने गरेको नेपाल पंक्षी संरक्षण संघका फिल्ड अधिकृत इश्वरी चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्