सुशासन कायम गर्न स्थानीय तह प्रतिस्पर्धामा



धनवीर दाहाल, रुकुम ।
रुकुमका स्थानीय तहले आफ्नो स्थानीय तहलाई सुशासन कायम गर्नका लागी प्रयासको थालनी गरेका छन् । स्थानीय तहको निबार्चन सम्पन्न भएको एक बर्ष बितिसक्दा पनि केही गर्न नसकेको भनि सेवाग्राहीको स्तरबाट गुनासो बढ्दै गएपछि स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो पालिकामा कसरी सुशासन कायम गर्न सकिन्छ भन्ने बिषयमा छलफललाई तिब्रता दिएका छन् ।

खासगरी पछिल्लो समय रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका जनजप्रतिनिधीले स्थानिय तहमा सुशासन कायम गर्न आफुहरु प्रतिवद्ध रहेको बताएका छन् ।

त्रिबेणी गाँउपालिकाका जनप्रतिनिधिहरुले सेवाग्रहीको गुनासो व्यवस्थापन गर्न र स्थानिय तहबाट हुने सेवाप्रवाहलाई प्रभावकारी बनाउन लागिपर्ने कुरामा सहमत हुदै सरोकारवाला सबैले सुशासनका क्षेत्रमा त्रिवेणी गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने सामुहिक प्रतिवद्धता समेत जनाएका हुन् ।

मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) नेपाल रुकुमद्धारा सिम्रुतुमा आयोजित सुशासन सम्बन्धी समन्वय बैठक तथा छलफलमा सहभागी त्रिवेणी गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्ती तथा विभिन्न वडाका वडा अध्यक्षका साथै स्थानिय सरोकारवालाहरु समेतले गाउँपालिकामा सुशासन र जवाफदेहिता प्रवद्धन गर्नका लागि आगामी गाउँ कार्यपालिकाको बैठकबाट सुशासन प्रवद्धन रणनिति तथा कार्ययोजना–२०७४ मा व्यवस्था भए अनुसार सुशासन समिति गठन गर्ने, गाउँपालिकाका दशवटै वडाहरुमा चौमासिक रुपमा नियमित सार्वजनिक सुनुवाई गर्ने निर्णय गरिएको छ ।

साथै हरप्लेस नेपालद्धारा त्रिवेणीको वडा नं. ३, ४ र ५ मा यसअघि गठन गरिएको स्थानिय सभा सुशासन प्रवद्धन गर्नका लागि उपयोगी देखिएकोले उक्त स्थानिय सभालाई अबदेखी हरेक वडाहरुमा स्थानिय सरकारले नै गठन गरि प्रभावकारी कार्यन्वयन गर्ने निर्णय पनि गरिएको छ । गाउँपालिकामा नागरिकको सहज पहुँच विस्तार गर्न र गुनासोहरुको व्यवस्थापनका लािग हरप्लेसको प्राविधिक सहयोगमा टोल फ्रि फोन समेत सुचारु गर्ने निर्णय पनि गरिएको छ ।

सबै क्षेत्रमा सुशासन कायम हुन सकेमात्र नेपालको संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्यमा पुग्न सकिने कुरामा जोड दिँदै त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले सुशासन कार्यान्वयन र जवाफदेहिता कायम गर्ने कुरामा यस गाउँपालिकालाई नमुना बनाउन सरोकारवाला सबैबाट आवश्यक सहयोगको समेत अपेक्षा गरेको बताए ।

‘जनताबाट निर्वाचित हामी जनप्रतिनिधिहरुको पहिलो प्राथमिकता भनेकै सुशासन प्रवद्धन गर्नु हो ।’ उनले भने, ‘यसका लागि हामि प्रतिवद्ध भएर लाग्न सक्नुपर्छ । यसकारण सबै क्षेत्रमा सुशासन कायम गर्न हामी अधिकतम प्रयास गरिरहेका छौ । अब निर्णय गरेरै लागु गर्छौ । त्रिवेणी गाउँपालिका सुशासनको क्षेत्रमा नमुना हुनेछ ।’

सुशासन, पारदर्शिता र जवाफदेहिता प्रर्वद्धनका लागि आवश्यक कानुन, नियम, कार्यविधी निर्देशिका पारित गरेर अगाडि बढ्ने कुरामा बिशेष जोड दिनुपर्ने बताउदै उपस्थित अन्य सरोकारवाला सबैले त्रिवेणी गाउँपालिकालाई सुशासन र जवाफदेहिताको क्षेत्रमा नुमना बनाउन आ–आफ्नो ठाउँबाट लाग्ने बताएका थिए ।

हरप्लेस नेपालद्धारा पारस्परिक जवाफदेहिता परियोजना लागु भएको यस गाउँपालिकामा सुशासन प्रवद्धनका लागि जनप्रतिनीधिहरु यसरी प्रविवद्ध हुनु सुखद भएको बताउदै हरप्लेस रुकुमका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले गरिएका निर्णयहरुको सफल कार्यन्वयन गर्दै अगाडी बढ्न सके सेवाप्रवाहमा प्रभावकारिता बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्