पिडीत परिवारको आरोपः पक्राउ गरेकालाई प्रहरीले नै रातारात भगायो



गणेश घिमिरे, इलाम ।

एनसेल टावरमा आगजनी गरेको आशङ्कामा गत चैत १५ गते पक्राउ परेका इलामनगरपालिका १ साँखेजुङका दुईजना युवालाई प्रहरीले बेपत्ता बनाएको उनका परिवारजनले आरोप लगाएका छन् । साँखेजुङमा रहेको एनसेल टावरमा चैत १४ गते राती आगजनी भएपछि १५ गते बिहान प्रहरीले सो घटनामा संलग्न रहेको भन्दै २४ बर्षिय बिशाल राई र २५ बर्षिय बिमल राईलाई पक्राउ गरेको थियो । अदालतमा प्रहरीले आगजनी सम्बन्धि मुद्धा दर्ता गरी हिरासतमा २४ दिनसम्म अनुसन्धानमा राखेको थियो ।

अनुसन्धान पश्चात बैशाख १० गते इलाम जिल्ला अदालतबाट पक्राउ परेका दुबै जनालाई ७५÷७५ हजार रुपैंयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको फैसला आएपछि पक्राउ परेका राईका परिवारले अदालतमा धरौटी बुझाएर घर लाने क्रममा प्रहरीले अदालत परिसरबाटै पुन दुबै जनालाई पक्राउ गरेको थियो ।

बिशाल र बिमलको बारेमा अझै अनुसन्धान गर्नुछ, तपाईहरुको मान्छे मंगलबार बिहान जिम्मा लगाइदिने भन्दै प्रहरीले पक्राउ गरेर लगेको पक्राउ परेकामध्ये बिशाल राईको श्रीमती मनिता खत्रीले बताइन् । तर मंगलबार साडे ९ बजे बिहान प्रहरी हिरासतमा श्रीमानलाई भेट्न जाँदा केही प्रहरीले यहाँ नभएको दुवै जनालाई राती नै अर्कोतिर लगिसकेको बताएको जानकारी गराइन् । ‘अदालतबाट धरौटीमा रिहा भइसकेको ब्यक्तिलाई पुन पक्राउ गरेर प्रहरीले रातारात बेपत्ता बनाएको छ’ खत्रीले भनिन् –‘प्रहरीको निरङकुशता र ज्यादती बढ्दै गएको छ, प्रहरीले चाँडो श्रीमानलाई उपस्थित गराओस् ।’

अदालतको फैसलापछि धरौटी बुझाएर आएको ब्यक्तिलाई पक्राउ गर्नु नै थियो भने प्रहरीले परिवारलाई जानकारी गराउनु पर्ने उहाँको भनाई छ । एनसेल टावर आगजनीमा समेत श्रीमानको संलग्नता नभइकन पनि प्रहरीले शंकाकै भरमा निर्दोष ब्यक्तिलाई पक्राउ गरेर अनुसन्धानको नाममा २४ दिनसम्म राख्नु ठाडो मानवअधिकार उल्लङघन गरेको खत्रीले आक्रोश पोख्नुभयो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख (एसपी) बिपीन कर्मचार्यले भने पक्राउ परेका बिशाल र बिमल राईलाई जिल्ला प्रहरी कार्यालय पाँचथर लगिएको जानकारी गराए । पाँचथरमा पनि यस्तै किसिमको घटनामा संलग्न रहेको आशंकामा उनीहरुलाई पुन पक्राउ गरेर पाँचथर पुरयाएको एसपी कर्मचार्यले बताए ।

उनका अनुसार इलामको घटनामा पनि पाँचथरका केहि ब्यक्तिको संलग्नता देखिएकाले पाँचथरबाट पनि दुईजनालाई इलाममा ल्याइएको छ । साँखेजुङको एनसेल टावर आगजनीमा पक्राउ परेका बिशाल र बिमल राई बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । आगलागीबाट जेनेरेटर, टावर, मेसीन र तारमा क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्