आफ्नै मैदानमा पनि दिल्ली पराजित



काठमाडौँ । दिल्लीको फिरोजशाह कोटला मैदानमा भएको आईपीएलअन्तर्गत खेलमा दिल्ली डेयरडेविल्सले हारको सामना गर्नु परेको छ । सोमबार राति सम्पन्न खेलमा किंग्स ११ पञ्जाबले दिल्ली डेयरडेविल्सलाई ४ रनले निरास पारेको हो । दिल्ली यस सिजनको आईपीएलमा दोस्रो जितको निकट पुगेर पनि हार्नुप¥यो । यो दिल्लीको पाँचौ हार थियो भने पञ्जाब १० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ ।

यो खेलमा दिल्लीका कप्तान गौतम गम्भीरले टस जितेर पञ्जाबलाई ब्याटिङको निम्तो दिएका थिए । पञ्जाबले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ४३ रन बनायो । दिल्लीको लागि लक्ष्य १ सय ४४ रनको थियो । तर यो टोली २० ओभरमा ८ विकेटको पतनमा १ सय ३९ रनमै सीमित भयो । घरेलु टोलीका लागि अन्तिम बलमा ५ रन बनाउनु पर्ने थियो । श्रेयस अय्यरले छक्का प्रहार गर्ने कोसिस गरे पनि उनी लंगअनमा क्याच आउट भए । टोलीका लागि अय्यरले सर्वाधिक ५७ रन जोडेका थिए । पञ्जाबको तर्फकाट अंकित राजपूत, एन्ड्रयु टे र मुजीब उर रहमानले दुई–दुई विकेट लिए ।

यसअघि पञ्जाबले क्रिस गेललाई विश्राम दिएर एरोन फिन्चलाई ओपनिङको जिम्मेबारी दिएको थियो । तर उनी २ रनमै पवेलियन फर्केका थिए । लयमा रहेका ओपनर लोकेस राहुलले २३ रनको छोटो इनिङ खेले भने मध्यक्रमका करुण नायरले ३४ रन बनाए । तर युवराज सिंहले १४ रन जोडेर टोलीलाई फेरि निरास गरेका थिए । दिल्लीका बलरमा लियाम प्लंकेटले सर्वाधिक तीन विकेट हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्