विपन्न विद्यार्थीलाई स्टेशनरी सामाग्री



सिन्धुपाल्चोक । बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज क्लव अफ सिन्धुपाल्चोकले ७५ जना विपन्न विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।

किवानिज क्लव अफ सिन्धुपाल्चोकले श्री वागेश्वरी आधारभूत विद्यालय, बाह्रबिसे ३ का ७५ जना आर्थिकरुपले विपन्न विद्यार्थीलाई झोला, कपि, विस्कुट, जुस लगायतका खेलकुदका सामाग्री वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथी तथा बाह्रबिसे ३ का वडा अध्यक्ष टेकबहादुर भण्डारीले किवानिज क्लव अफ सिन्धुपाल्चोकको सहयोगको निरन्तरताका लागि आग्रह गर्नुभयो ।

सिन्धुपाल्चोक किवानिज क्लवका संस्थापक अध्यक्ष नारायणबहादुर राउतले बालबालिका मार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न क्लव अग्रसर रहेको बताउनुभयो । उहाँले क्लव मार्फत् सिन्धुपाल्चोक जिल्लाका दुुर्गम स्थानका विशेषगरी सरकारी विद्यालयमा स्टेसनरी, झोला, खाजा, नेतृत्व विकास र रक्तदान लागायतका सामाजिक कार्यक्रम आगामी दिनमा समेत निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रममा विशेष अतिथी तथा किविनिज क्लवका डिस्ट्रिक सेक्रेटरी लक्षमण लम्सालले सिन्धुपाल्चोक किवानिज क्लवको सामाजिक कार्यको सराहना गदैँ आगामी दिनमा समेत यस प्रकारका सामाजिक कार्यको निरन्तरता दिन आग्रह गर्नुभयो ।
गत शुक्रबार आयोजित सो कार्यक्रमको संयोजन क्लवका सहसचिव रामचन्द्र थापाले गर्नुभएको थियो ।

यस्तै डिस्ट्रिक भाइस गर्भनर एकराज पन्तले राजधानी नजिकैको जिल्ला भएर पनि विपन्न विद्यार्थीका लागि आधारभूत सामग्रीको पहुँच नहुनु दुःखद भएको भन्दै यस तर्फ सम्बन्धित निकायको दृष्टि पुग्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा किवानिज चिल्ड्रेन फण्डका अध्यक्ष दामोदर ढकाल लगायतका पदाधिकारी उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्