नेपाली महिला टिमलाई रजत



काठमाडौं, (नेस)
नेपालले आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको अन्तिम दिन सोमबार महिला टिम इभेन्टमा रजत जितेको छ।

फाइनलमा भारतले नेपाललाई ५–० ले पराजित गर्दै स्वर्ण जित्यो। नेपालबाट प्रतिस्पर्धा गरेका ओलम्पियन फुपुल्हामु खत्री, मनीता श्रेष्ठ प्रधान, देवीका खड्का, भावना घर्ती मगर र पुनम श्रेष्ठ पाँचै जनाले हार बेहोरेका थिए। फुपुले सिंगल्स प्रतिस्पर्धामा पनि रजत पदकमै चित्त बुझाउनुपरेको थियो। त्यस्तै पाकिस्तानले बंगलादेशलाई ४–१ ले हराएर कांस्य पदक हात पारेको थियो।

पुरुष टिम इभेन्टमा पनि भारतले नै स्वर्ण जित्यो। भारतले पाकिस्तानलाई ३–२ ले हराएको थियो। यही इभेन्टमा कांस्य पदकका लागि प्रतिस्पर्धा गरेको नेपालले श्रीलंकासँग ३–२ ले हार्न पुगेको थियो। जबकि नेपालले २–० को अग्रता लिएको स्थिति थियो।

प्रतियोगितामा हिजो दुई स्वर्ण थप गर्दै भारतले कुल १२ स्वर्ण हात पा¥यो। भारतले १० स्वर्ण मात्रै व्यक्तिगत स्पर्धामा जितेको थियो। जसमा महिलातर्फ भएको सातै स्वर्ण भारतले जितेको थियो। पुरुषतर्फ व्यक्तिगत स्पर्धामा भने ७ मध्ये ३ स्वर्ण भारतले हासिल ग¥यो। जसमा नेपालले २ र पाकिस्तानले एक स्वर्ण जिते।

लगनखेलस्थित सेनाको शारीरिक प्रशिक्षण तथा तालिम केन्द्रमा भएको ३ दिने प्रतियोगितामा आयोजक नेपालका लागि रविन श्रेष्ठले १ सय केजीमुनि र ईन्द्रबहादुर श्रेष्ठले ६६ केजीमुनि स्वर्ण दिलाएका हुन्। आशा गरिएका फुपु र मनिता भने क्रमशः रजत र कांस्यमै सीमित भएका थिए।

प्रतिक्रिया दिनुहोस्