मोदीको नेपाल यात्रा वैशाख २८ देखि



काठमाडौं, (नेस)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही महिनामा नेपाल भ्रमण गर्ने तयारी अघि बढाइएको छ। २ दिने राजकीय भ्रमणका लागि उहाँ वैशाख २८ गते काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आफ्ना भारतीय समकक्षी मोदीको नेपाल भ्रमण तालिका अनुमोदन गर्नुभएको हो। भारतले प्रस्ताव गरेको भ्रमण तालिकाअनुसार नै ओलीले भ्रमण मिति अनुमोदन गर्नुभएको हो।

गत महिनाको भारत भ्रमणका क्रममा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो। आफ्नो भ्रमणका क्रममा मोदीले जानकी मन्दिरको दर्शन गर्ने बताइएको छ। भ्रमणको मिति अनुमोदन भएलगत्तै दुवै मुलुकका अधिकारीहरू सुरक्षा र कूटनीतिक तयारीमा जुटिसकेका मन्त्रालयका अधिकारी बताउँछन्। ‘भ्रमण अनुमोदन भयो भन्ने अनौपचारिक खबर थाहा भयो, यसबारेको विस्तृत जानकारी अहिलेसम्म प्राप्त भएको छैन।’ –मन्त्रालयका एक अधिकारीले सोमबार साँझ नेपाल समाचारपत्रसँग भने।

प्रतिक्रिया दिनुहोस्