उर्लिएको शेयर बजारमा फेरि गिरावट



काठमाडौं, (नेस)
सातामा कारोबारको दोस्रो दिन पुँजी बजारमा दोहोरो अंकको गिरावट आएको छ। आइतबार ५० अंकले बढेको बजार सोमबार २७ दशमलव ६४ बिन्दूले ओरालो लागेर नेप्से परिसूचक एक हजार ४ सय १० बिन्दुमा पुगेको छ।

नेप्से परिसूचक घटे पनि अघिल्लो दिनको तुलनामा सोमबार कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार १ सय ७० कम्पनीको ३१ लाख १४ हजार ६ सय १८ कित्ता शेयर १ अर्ब ५१ करोड ९९ लाख ४२ हजार ८ सय १५ रुपियाँ बराबरको कारोवार भएको हो। आइतबार १ सय ६७ वटा कम्पनीको १ अर्ब २३ करोड रुपियाँ बराबरको कारोबार भउको थियो।

स्टकका अनुसार सबै समूहको उपसूचक ओरालो लागेपछि बजार प्रभावित भएको हो। सोमबार सबैभन्दा धेरै बीमा समूहको उपसूचक ८८ दशमलव ४४ अंकले घटेको छ। बैंकिङ समूह २५ दशमल १६ अंकले, व्यापार समूह ५ दशमलव ९९ अंकले, होटल समूह ७८ दशमलव ७८ अंक र विकास बैंक समूह ३१ दशमलव ५४ अंकले घटेको छ।
त्यसैगरी जलविद्युत् समूह ५४ दशमलव ७३, फाइनान्स समूह ९ दशमलव ५९, उत्पादन समूह २९ दशमलव शून्य ८, अन्य समूह १६ दशमलव ७७ र माइक्रोफाइनान्स समूह ३० दशमलव ७८ अंकले घटेको छ।

सोमबारको कारोबारमा २५ वटा कम्पनीका शेयरधनीले कमाएका छन्। सबैभन्दा बढी कमाउनेमा स्वदेशी लघुवित्तका शेयरधनीले ९ दशमलव ९५ अंकले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा राधी जलविद्युत् कम्पनी, तारागाउँ रिजेन्सी र सप्तकोसी विकास बैंकका प्रतिकित्ता ६ प्रतिशतका दरले गुमाएका छन्।

सोमबार ‘क’ वर्गका कम्पनीको शेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचकसमेत ६ दशमलव शून्य ७ बिन्दूले ओरालो लागेर २ सय ९८ दशमलव शून्य ४ बिन्दूमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्