संगीतकर्मीलाई सार्वजनिक सवारीबाट रोयल्टी



रश्मी थापा

गीत संगीत क्षेत्रमा संलग्न सर्जक तथा गायकगायिकाको कमाइको स्रोत बढेको छ। संगीतकर्मीहरूले सार्वजनिक यातायातमा आप्mना गीतसंगीत बजाएबापत रोएल्टी पाउने भएका छन्। यातायात व्यवस्था विभागले जारी गरेको नयाँ यातायात व्यवस्थापन कार्यविधिअनुसार सार्वजनिक सवारी साधनका धनीहरूले संगीत रोयल्टी संकलन समाज नेपाल, प्रस्तोता समाज नेपाल र संगीत उत्पादक समाज नेपालले तोकेको मापदण्डअनुसार रोयल्टी तिरेर अनुमतिपत्र लिन तथा नविकरण गर्न शुरू गरेका छन्।


यस कार्यविधिअनुसार सार्वजनिक सवारी साधनका धनीहरूले अब रुट पर्मिट लिँदा, नया सवारी दर्ता गर्दा, सवारी नामसारी गर्दा र सवारी नविकरण गर्दा संगीतसम्बन्धी रोयल्टी बुझाएको प्रमाण पनि पेश गर्नुपर्नेछ।

यो मापदण्डअनुसार ठूलो बसले वार्षिक २ हजार, मिनिबसले १४ सय, ट्रक, मिनी ट्रक र ट्याङकरले १२ सय, ट्याक्सी जिप माइक्रो बसले १ हजार र पिकअपले ८ सय रुपियाँ वार्षिक शुल्क तिर्नुपर्ने छ। यसरी संकलित रोयल्टी विश्वव्यापी बौद्धिक सम्पत्ति संगठन वल्र्ड इन्टेलेक्चुअल प्रोर्पटी अर्गनाइजेसनले अनुमोदन गरेको युपीए प्रणालीअनुसार श्रष्टा, गायकगायिका, संगीत उद्योगीलगायतलाई वितरण गरिनेछ।

रोयल्टी संकलनका लागि आवश्यक तयारी गरी यातायात नविकरण गर्ने स्थानहरूमा कर्मचारी खटाइएको र आगामी दिनमा यसका लागि अनलाइनमाध्यमको व्यवस्था गरिने व्यवस्था भएको प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुलीले बताए। टेलिभिजन, रेडियो, युट्युब, सीआरबीटी, पीआरबीटीजस्ता डाटा खुल्ने माध्यमबाट डाटा तथा अन्य डाटा नखुल्ने माध्यमका लागि पनि स्याम्पलिङको आधारमा संकलित रोयल्टी कहाँ कति बज्यो भन्ने आधारमा बाँडिन्छ।


‘यो मापदण्ड हामीले यातायात व्यवस्था विभाग, यातायात महासंघ तथा विभिन्न समितिहरूसँग विभिन्न समयमा बसेको बैठकअनुसार तयार गरेका हौँ। यसका लागि हामीले धेरै मेहनत ग¥यौँ। प्रत्येक बैठकमा यातायात विभाग पोजेटिभ देखियो।’ पराजुलीले भने– ‘तर पटकपटकको प्रयासपछि मात्र हामी यसमा सफल भएका छाँै। यो मापदण्डअनुसार वार्षिक रूपमा तिर्नुपर्ने शुल्कको हिसाब गर्दा दिनमा आधा कप चियाको शुल्क जति पनि पर्दैन। वार्षिक रूपमा संकलन हुने रकम २० करोड हुनेछ भन्ने हामीले अनुमान गरेका छँैँ। तर यसप्रति यातायात व्यवसायी राष्ट्रिय महासंघले असन्तुष्टि जनाए पनि उहाँहरूले तिर्ने रकम नेपालका स्रष्टा, कलाकारहरूप्रति सम्मान हो। नेपाली गीतसंगीतको उजागरमा उहाँहरूलगायत सबैको साथ रहोस भन्ने चाहन्छौँ।’

सार्वजनिक यातायातले तिर्नुपर्ने यो शुल्क धेरै नभएको संगीतकार संघ नेपालका अध्यक्ष तथा प्रस्तोता समाज नेपालका सदस्य लक्ष्मण शेष बताउँछन्। ‘सार्वजनिक यातायातको क्षमता हेरेर बस, ट्याक्सी, जीप, ट्रक आदि सवारी साधनलाई ८ सयदेखि २ हजारसम्म शुल्क तोकिएको छ। यो भनेको दिनको १÷२ रुपियाँ मात्र हो’ –उनले भने।

प्रतिक्रिया दिनुहोस्