कोरियाली स्वयम्सेवीले बनाए परामर्श कक्ष



दक्षिण कोरियाली स्वयम्सेवीले हेटौंडा अस्पतालमा गर्भवतीका लागि परामर्श कक्ष निर्माण गरेका छन्। दक्षिण कोरियामा नर्सिङ अध्ययन पूरा गरी २ वर्षका लागि स्वयम्सेवा गर्न नेपाल आएकी दुई स्वयम्सेवी रोशनी र हिमानीले हेटौंडा अस्पतालमा गर्भवती परामर्श कक्ष निर्माण गरेका हुन्। गर्भवती परामर्श कक्षको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा. मदनकुमार उपाध्यायले उद्घाटन गर्नुभयो।

हेटौंडा अस्पतालको प्रसूति वार्डको एउटा कोठामा १५ हजार अमेरिकी डलर लागतमा गर्भवती परामर्श कक्ष निर्माण गरिएको रोशनीले जानकारी दिइन्। रोशनी र हिमानी १९ महिनादेखि हेटौंडा अस्पतालमा स्वयम्सेवी नर्सका रूपमा कार्यरत् छन्।१९ महिनाअघि हेटौंडा अस्पताल आएपछि सेवाकार्य शुरू गरेलगत्तै गर्भवतीका बारेमा गरिएको अनुसन्धानबारे पनि रोशनीले जानकारी गराएकी थिइन्। रोशनीले किशोरी आमा, आर्थिक अवस्था कमजोर हुनु, सचेतनाको अभावका कारण गर्भावस्थामा महिलाहरूमा जोखिममा रहने गरेको बताइन्।

२ वर्षे सेवा अवधिको अन्तिममा आएर परामर्श कक्ष निर्माण गर्न अस्पतालले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै गर्भवतीलाई प्रसूतिअघि गर्भावास्था र प्रसूतिपछि शिशुको स्याहारका विषयमा उचित परामर्श दिन आवश्यक रहेकाले परामर्श कक्ष निर्माण गरिएको रोशनीको भनाइ छ।रोशनी र हिमानीको प्रस्तावपछि गर्भवती परामर्श कक्ष निर्माणका लागि कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) ले आर्थिक सहयोग गरेको हो। गर्भवती परामर्श कक्षमा गर्भावस्थाबारे जानकारी गराउने सामग्रीहरू, बेड, कुर्सी, टेबल, डिजिटल मनिटर, किताब तथा अन्य उपयोगी सामग्री छन्।

गर्भवती परामर्श कक्षको उद्घाटन अवसरमा क्षेत्रीय निर्देशक डा. उपाध्यायले कोरियाली सहयोगको सदुपयोग गरेर गर्भवतीले लाभ लिने विश्वास व्यक्त गर्नुभयो। हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कमल दवाडीले स्वयम्सेवीले निर्माण गरेको गर्भवती परामर्श कक्षले गर्भवती र शिशुलाई सुरक्षित राख्न उपयोगी हुने बताउनुभयो। कार्यक्रममा हेटौंडा अस्पताल विकास समिति अध्यक्ष रमेश गिरी, अस्पतालको व्यवस्थापनकी सामना शर्माको पनि उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्