कलात्मक शैलीमा बुद्ध विहार पुनःनिर्माण गरिने



नेपाल समाचारपत्र, काठमाडौं ।
भूकम्पबाट क्षतिग्रस्त भृकुटीमण्डपस्थित बुद्ध विहारको पुनःनिर्माण हुने भएको छ ।

बुद्धको ज्ञान र ध्यान अभ्यास गराउने थलोका रुपमा रहेको सो विहार २०३४ सालमा स्वर्गीय भिक्षु सुमंगल महास्थविरले अग्रसरतामा निर्माण भएको थियो ।हाल धम्म हलको रुपमा प्रयोग गर्दै आएको भवन पुनःनिर्माण गर्न लागिएको बुद्ध विहार पुनःनिर्माण समितिले जनाएको छ ।

बैशाख १२ गतेको भूकम्पबाट आशिक क्षति भएको, हाल सो भवन आगेटिएको क्षेत्र साँघुरो रहेको स्थितिलाई समेत मध्यनजर गर्दै पुनःनिर्माण गर्न लागिएको विहार पुनःनिर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविरले जानकारी दिनुभयो ।

पुनःनिर्माणका लागि स्वीकृत नक्सा अनुसार ८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा बन्ने भवन नेपाली मौलिकसहित र कलात्मक हुने छ ।विहारको भवन पुनःनिर्माण गर्न करिब ४ करोड लाग्ने अनुमान गरिएको छ ।

नयाँ भवन बनेपछि करिब ३ सय जना सामूहिक रुपमा बसेर ध्यान, प्रार्थना गर्न मिल्ने, विभिन्न जिल्ला र देशबाहिरबाट आउने आगन्तुक भिक्षुहरुलाई बस्न सहज हुने, भिक्षुहरुलाई तालिम, अभिमुखीकरण गर्न सकिने समितिका उपाध्यक्ष एवं समाजसेवी मोतिलाल शिल्पकारले जानकारी दिनुभयो ।

भवनको शिलान्यास

यसैबीच सोमबार आयोजित एक समारोहकाबीच भवनको शिलान्यास गरियो ।

नेपालका संघउपनायक (दोस्रो ज्येष्ठ) भिक्षु ज्ञाणपूर्णिक महास्थविर, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविर, काठमाडौं क्षेत्र ८ का प्रदेशसांसद् राजेश शाक्य, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा श्रेष्ठखड्गी, दाता द्रव्यमानसिंह तुलाधार(भाईराजा साहु) ले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

सो अवसरमा काठमाडौं महानगरपालिकाबाट प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा श्रेष्ठखड्गीले बुद्धजन्मभूमी नेपालमा बुद्धको ज्ञान र ध्यान अभ्यास गराउने विहारको महत्व उल्लेख गर्दै भवन निर्माणमा महानगरपालिकाले यथासक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष भिक्षु कौण्डन्यको सभापतित्वमा भएको सो समारोहमा प्रदेश सांसद् शाक्य, पूर्वराज्यमन्त्री कञ्चन वादे, समितिका उपाध्यक्ष मोतिलाल शिल्पकार, समितिका सचिव सञ्जिव शिल्पकार लगायतले महानगरपालिकाले विहार निर्माणमा यथासक्य सहयोग गर्नुपर्नेमा ध्यानाकर्षण गराउँदै आआफ्नो धारणा राख्नुभयो । समारोहमा सहभागीहरुले विहार निर्माणको लागि आफ्नो गच्छे अनुसार आर्थिक सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्