सवारी रोकेरै सडक स्तरोन्नति



प्रताप बानियाँ, म्याग्दी ।
पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी–दरबाङ सडकखण्डमा सवारी आवागमन रोकेर स्तरोन्नतिको काम सुरु भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको सरोकारवालाहरुसहितको संयुक्त वैठकमा बिहान र दिउँसोको समयमा चारचार घण्टा सवारी रोकेर सडक स्तरोन्नतिको काम अगाडि बढाउने निर्णय गरिएको थियो ।

वैठकमा बिहान ५ बजेदेखि ९ र दिउँसो १२ बजेदेखि ४ बजेसम्म सवारी आवागमन रोकेर आगामी एक हप्तासम्म सोमबारदेखि १६ गतेसम्म सडक निर्माणको काम गर्ने निर्णय गरिएको छ ।

बेनी–दरबाङ सडकखण्ड अन्तर्गत पर्ने सिङ्गा नजिकै कुनाको तालनेर कडा चट्टान रहेकोमा पहरा फुटाउनका लागि सवारी बन्द गर्नुपर्ने निर्माण कम्पनी लामा समानान्तर जेभीले जनाएको छ । उक्त स्थानमा सडकको चौडाई समेत कमी रहेको छ भने सिङ्गाको पौडेलचोक र तातोपानी कुण्डमाथी सवारीसाधन रोकेर काम गरिने बताइएको छ ।

वैठकमा पूर्व सभासद गोविन्दप्रसाद पौडेल र जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले सडक स्तरोन्नतिको काम सुस्त गतिमा भैरहेको भन्दै कामदार बढाएर द्रुत गतिमा काम गर्न निर्देशन दिएका छन् । यता लामा समानान्तर जेभीका म्यानेजर गोविन्द भूषालले सडक निर्माणको कार्यमा मजदुरको सङ्ख्या वृद्धि गरेर सडक विस्तार गर्ने कामलाई द्रुत गतिमा बढाउने जानकारी दिए ।

उनले हाल दैनिक करिब एकसय जनाको हाराहारीमा मजदुरहरु परिचालन गरेर काम भैरहेको बताए । अहिले बेनीदेखि साढे ६ किलोमिटरको सडकको विभिन्न ४ खण्डमा हेभी मेसिनसहित काम भैरहेको छ भने सडक निर्माणको आवश्यकता अनुसार मेसिन थप गरिने निर्माण व्यवसायी भूषालको भनाई छ ।

चालु वर्षको गत साउन महिनामा निर्माण सम्झौता भएको सडकको आगामी ३० महिनाभित्र काम सक्नुपर्नेछ । बेनीदेखि १३ किलोमिटर लम्बाई रहेको सडकको चौडाई नाली र सोल्जरसहित १० किलोमिटर फराकिलो बनाइने डिभिजन सडक कार्यालय बागलुङका प्रमुख इन्जििनियर थानेश्वर खत्रीले बताए ।

बाबियाचौरसम्म कालोपत्रे गरिने सडकको भ्याटसहित करिब ४४ लाख रुपैयाँ बजेट रहेको उनले जानकारी दिए । सडकको ७ मिटरको चौडाइमा कालोपत्र गरिने जनाइएको छ ।

वैठकमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सडक निर्माणका क्रममा आवश्यक सुरक्षा प्रवन्ध मिलाइने बताउँदै निर्माणको कामलाई तिब्रताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।

वैठकमा जिल्लास्थित कार्यालय प्रमुख, यातायात व्यवसायी, मंगला, मालिका र धौलागिरि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी एवं पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्