संघिय संरचना अनुशार प्रहरी प्रशासनः गृहमन्त्री बादल



चितवन, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरी प्रशासन संघिय संरचना अनुसार संचालन भैरहेको बताएका छन् । आज (सोमवार) भरतपुर विमानस्थलमा पत्रकारसंग कुरागर्दै गृहमन्त्री बादलले संघिय प्रणाली कार्यान्वयनका लागी गृह मन्त्रालयले कार्यकारी आदेश जारी गरेको बताए ।

उनले देशमा संघिय प्रहरी र प्रदेश प्रहरीको संरचना हुने भन्दै त्यसको समन्वयको लागी कार्यकारी आदेश जारी गरेको जानकारी दिए । आदेशले जिल्ला,प्रदेश र संघबिच समन्वयकारी भूमिका खेल्ने उनको भनाई छ । संघियता अनुसारनै प्रहरी संरचना बन्दै गैरहेको मन्त्री बादलले बताए ।

यस्तै गृहमन्त्री बादलले एमाले र माओवादी केन्द्रविच सबै विषयमा टुंगो लागिसकेको भन्दै छिट्टै एकता हुने दाबी गरे । उनले प्राविधिक कारणले ढिलाई भएपनि मिति नतोकेकै समयमा एकता हुने बताए ।

पार्टी एकताका लागी आवश्यक पुर्वाधार तयार भैसकेको छ, गृहमन्त्री बादलले भने,’ एकताका लागी राजनैतिक,बैचारिक र संगठनात्मक आधारहरु तय भैसकेको छ ।’ जनयुद्धको भूमिकालाई संरक्षण गर्ने र संगठनात्मक विषयमा नेतृत्वको मोडालिटी कस्तो हुने भन्ने विषय पनि टुंगिसकेको बादलको दावी छ ।

दुबै पार्टीका सबै नेतालाई संगठनात्मक मोडेलका आधारमा व्यवस्थापन गरिने उनले बताए । केन्द्रमा सहअध्यक्षको मोडेल र जिल्ला तहमा दुई पदिय नेतृत्वको मोडेल तयार गरेर सिफारिस गरेको मन्त्री बादलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्