ढोरपाटन धोंमा टेलिकमको सेवा विस्तार



काठमाडौं, (नेस)

नेपाल टेलिकमले बाग्लुङको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा थ्रिजी बीटीएस स्थापना गरी जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । माइक्रोवेभ प्रविधिमार्फत् जीएसएम मोबाइल सेवा सञ्चालन गरिएको हो ।

ढोरपाटन नगरपालिका–९ मा स्थापित बीटीएसबाट ढोरपाटन उपत्यकाका सबै भू–भाग र बोबाङको केही भागमा थ्रिजी सेवा सञ्चालनमा आएको छ ।

बाग्लुङ सदरमुकामदेखि १ सय २४ किलोमिटरको सडक दूरीमा र करिब ३ हजार २ सय मिटर उचाईमा यस स्थानबाटमा सेवा सुचारु गर्दा करिब ५ सय घरधुरीका बासिन्दा तथा यस क्षेत्रमा आउने पर्यटक लाभान्वित हुने नेपाल टेलिकमले जनाएको छ ।

बागलुङ जिल्लामा रहेको नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको सुरक्षाको लागि समेत यो सेवाले सहयोग गर्ने कम्पनीको दाबी छ ।

त्यसैगरी डोल्पा जिल्लाको दुर्गम ग्रामीण क्षेत्र धोंमा टेलिकमले भीस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा उपलब्ध गराउन आरम्भ भएको छ । डोल्पा बुद्ध गाउ“पालिका धाेंमा स्थापित बीटीएसबाट त्यस स्थानका करिब २ हजार बासिन्दा तथा यस क्षेत्रमा आउने पर्यटक कम्पनीले जनाएको छ । यो दुनै सदरमुकामदेखि करिब ३ दिनको पैदल दूरीमा अवस्थित छ ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।

प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्