अबैध खानीमा कसले लगायो आगो ?



प्रहरी भन्छः अनुसन्धान जारी छ

मोतीराम तिमल्सिना, काभ्रे ।

बैशाख १ गते मध्यरातमा अबैद्य खानी र क्रसर माथी लगाईएको आगो कसले र कुन प्रयोजनका लागि लगाएको हो ? अझै खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले घटनाका बारेमा अझै मुख खोल्न सकेको छैन ।

घटनाका बारेमा अनुसन्धान गर्न डिएस्पी महेन्द्र मरासैनीको संयोजकत्वमा गठन गरेको टोलीले अनुसन्धान जारी रहेको बताएको छ । तर घटना भएको १० दिन वितिसक्दा समेत घटना किन, कसले र के का लागि घटाएको हो खुल्न सकेको छैन ।

घटनामा संलग्नहरुको पहिचान समेत गर्न नसकिएको प्रहरीले बताएको छ । नमोबुद्ध ६ मा संचालन भएको अबैद्य खानीमा प्रयोग हुने उपकरणहरु माथी आगलागी गरिएको छ । कुन्साङ्ग लामाले डाँडापारी जाने बाटोमा रहेको नमोबुद्ध नगरपालिका ६ मा बैद्य क्रसर र अबैद्य खानी संचालन गर्दै आएका थिए । २०७५ सालको पहिलो दिन ।

बैशाख १ गते रातको दुई बजेको समयमा कुन्साङ्ग लामाले संचालन गर्दै आएको चौकीडाँडामा रहेको ब्लुसाईन रोडा ढुङ्गा क्रसर उद्योगमा आगलागी हुँदा करिव ३ करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले डिएस्पी महेन्द्र मरासैनीको संयोजकत्वमा सात सदस्यीय अनुसन्धान टोली गठन गरेको छ । आगलागी गर्ने समुहले क्रसरमा रहेको मेशिन भित्र सिलिण्डर फिट गरेको थियो । छापामार शैलीमा आगजनी गरी फरार रहेको समुहको खोजविन गरिरहेको डिएस्पी महेन्द्र मरासैनीले जानकारी दिए ।

आगलागीबाट क्रसर उद्योगमा राखिएको ४ वटा टिफर, २ वटा इस्काभेटर, १ वटा जे.सि.बि. र १ वटा जेनेरेटर समेत जली पुर्ण रुपमा क्षेती भएका छन् । अन्य ४ ओटा टिफरको सिसा फुटेको छ । सोही क्रसरको अबैद्य खानीमा रहेका अन्य २ ओटा जे.सि.बि. मा समेत क्षती भएको प्रहरीले बताएको छ । क्रसर उद्योग आसपास ५० मिटर देखि १ सय ५० मिटर वरपर सडक छेउमा बाटो अवरोध गर्ने उद्देश्यले २ वटा प्रेसर कुकर बम राखिएको थियो ।

उक्त प्रेसर कुकर बमलाई नेपाली सेनाले डेटोनेटरको प्रयोग गरि डिष्पोज गरिएको थियो । अचानक राति उद्योगमा ८÷१० जनाको नकावधारी समुह प्रवेश गरी प्रज्वलित पदार्थ प्रेट्रोल समेतको प्रयोग गरी आगजनी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका कुन्साङ्गको घरमा शशस्त्र युद्धमा नेकपा माओवादीले समेत क्षति पुर्याएको थियो । राज्यबाट क्षति भएको भन्दा धेरै गुण बढी क्षतिपुर्ति लिएका कुन्साङ्गले बैद्य रुपमा संचालन गरेको अबैद्य खानी बन्द गराउन पटक पटक निर्देशन भए पनि बन्द गराउन प्रशासनले सकेको थिएन ।

राजनीतिक पहुँचका आधारमा लामाले खानी चलाईरहेको भन्दै विरोध हुँदै आएको थियो ।

घटनामा संलग्नको पहिचान नजिक प्रहरी पुगे पनि विप्लब समुहले मुख खोलेको छैन । तर ठाउँ ठाउँमा जग्गा कब्जा गर्ने, अबैद्य स्थानहरुलाई राज्यको सम्पति बनाउन पहल गर्ने अभियानमा विप्लब समुहले अभियान चलाउँदै आएको थियो । घटनाको प्रकृति पुर्व लडाकुहरुद्वारा छापामार शैलीमा गरेको देखिन्छ ।

ब्यक्तिगत रिसईवी वा राजनीतिक कारण ? प्रहरीले अनुसन्धान गरिरहेको छ । विप्लब माओवादीका जिल्ला स्तरका नेताहरु भने सबै फोन सम्पर्क हुन नसक्ने गरी भूमिगत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्