कृष्णप्पाले मूल्य अनुसार प्रदर्शन गर्दा राजस्थान विजयी



काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्र्तगत आइतबार भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । राजस्थानले मुम्बई इण्डियन्सलाई तीन विकेटले हराएको हो ।

 

१ सय ६८ रनको लक्ष्य राजस्थानले २ बल बाँकी रहँदा भेट्टायो । कृष्णप्पा गौतमले ११ बलमा ३३ रन प्रहार गरेर राजस्थानले हार्नै लागेको खेल जिताएका हुन् ।

 

टिमले खेल हार्ने सम्भावना बढीरहेका बेला आठौं नम्बरमा ब्याटिङ्ग गर्न आएका कृष्णप्पाले ११ बलमा ४ चौका र २ छक्कासहित ३३ रन बनाएपछि राजस्थानले रोमाञ्चक जित हात पारेको हो । राजस्थानका लागि सञ्जु सामसनले ५२ रन र बेन स्टोक्सले ४० रन बनाए ।

 

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको मुम्बईले ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । उसका लागि सुर्यकुमार यादवले ७२ र इशान किशनले ५८ रन बनाएका थिए ।

 

राजस्थानका जोफ्रा आर्चरले तीन तथा धवल कुलकर्णीले दुई विकेट लिएका थिए । जितसँगै राजस्थानले ६ मध्ये तीन खेल जित्दै ६ अंक बनाएको छ भने मुम्बइले ५ खेल खेलेकोमा एउटा खेल मात्र जित्दै २ अंक मात्र बनाउन सकेको छ ।

 

कष्णप्पा गौथमलाई आईपीएलको खेलाडी बोलकबोलमा राजस्थानले ६ करोड २० लाख भारुमा अनुबन्ध गर्दा धेरैजना चकित भएका थिए । उनका लागि यो आईपीएल डेब्यू थियो ।

 

आइतबारको खेल जिताउँदै उनले आफूलाई त्यति धेरै रकममा किन राजस्थानले अनुबन्ध गरेको थियो भन्ने कुराको जवाफ मैदानमा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्