सी–मोदीबीच शिखर बैठक हुने



बेइजिङ, (एजेन्सी)
चिनियाँ राष्ट्रपति सी जिन पिङले मध्य चीनको वुहानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने सिन्≈वा समाचार एजेन्सीले जनाएको छ। सांघाई कपोरेसन अर्गनाइजेसन (एससीओ) को बैठकका लागि चीनको भ्रमणमा रहकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बेइजिङमा आफ्ना समकक्षी वाङ यीसँग भेटेकी छिन्। दुई नेताहरूबीच द्विपक्षीय सम्बन्ध राम्रो बनाउन र आपसी हितसँग सम्बन्धित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा छलफल भएको जनाइएको छ।

सुष्मा स्वराजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै महिनाको २७ र २८ तारिखमा चीन जाने र वुहानमा अनौपचारिक शिखर वार्ता गर्ने जानकारी दिइन्। यस क्रममा चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गर्ने उनले बताइन्। वुहानमा हुन लागेको उक्त बैठकमा दुई देशबीच विश्वमा भइरहेको परिवर्तनलाई ध्यानमा राखेर भारत र चीन सम्बन्ध तथा विश्व शान्ति स्थापित गर्नमा आफ्नो दायित्वका विषयमा चर्चा हुने जनाइएको छ।

दुई एसियाली महाशक्तिबीच गत वर्ष चीन भुटान विवादस्पद सीमा दोकलामलाई लिएर ७३ दिनसम्म सैन्य टकरावको स्थिति बनेको थियो। उक्त त्रिदेशीय सीमामा निर्माणाधीन चिनियाँ संरचनालाई लिएर भारतीय सेनाले रोक्ने प्रयास गर्दा दुई देशबीच तनाव बढेको थियो।

स्वराजले चीनसँग यो वर्षदेखि नै नाथुला हुँदै कैलाश मानसरोवरको यात्रा पुनः शुरु हुने जानकारी दिइन्। यसै वर्ष यहाँबाट यात्राको आयोजना हुने उनले बताइन्।

दुवै देशबीच विकास आवश्यक भएको र सीमामा शान्ति बनिरहनुपर्ने तथा विवाद उत्पन्न हुन नहुनेमा सहमति भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले एससीओमा भारतको सदस्यताको स्वागत गरेको छ।

प्रतिक्रिया दिनुहोस्