गायिका राईलाई टेम्के तुवाचुङ पुरस्कार



खोटाङ, (नेस)। खोपी राखौंला नि लै लै बोलको गीतबाट चर्चामा आएकी गायिका राधा राईलाई टेम्के तुवाचुङ पुरस्कार २०७४ बाट पुरस्कृत गरिएको छ। २०६३ सालमा रेकर्ड गरिएको उक्त गीतबाट सांगीतिक बजारमा चर्चा कमाउन सफल गायिका राईलाई टेम्के तुवाचुङ प्रतिष्ठान नेपालले ११ हजार १ सय ११ रुपियाँ राशीको नगद तथा ताम्रापत्रले पुरस्कृत गरको हो।

गायिका राईलाई प्रसिद्धस्थल हलेसीमा शनिबार आयोजित प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसरमा हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख विमला राईले नगद तथा ताम्रपत्र प्रदान गरेकी थिइन्। लामो समयदेखि संगीतको औपचारिक शिक्षा लिँदै व्यावसायिकरूपमा स्थापित गायिका राई साकेला गाउँपालिका–१ बाँझेच्यान डाँडाकी हुन्। विभिन्न विधा तथा क्षेत्रबाट जिल्लाको गौरव बढाउने जिल्लाकै एक व्यक्तित्वलाई अझ सक्रिय बन्न हौसला प्रदान गर्ने उद्देश्यले पुरस्कार प्रदान गर्ने गरिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताए। ३ वर्षअघि स्थापना भएको प्रतिष्ठनाले यसअघि साहित्यकार चन्द्र रानोहँछा र कराते खेलाडी सञ्जय राईलाई पुरस्कृत गरिसकेको छ।

त्रि–धार्मिकस्थल हलेसीस्थित होटल हलेसी भिलेजमा आयोजित वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा बाँसुरी वादक नगेन्द्र राईको विशेष प्रस्तुति, अलग अभियान तथा साइनो कला केन्द्रका कलाकारको सांगीतिक प्रस्तुतिसमेत रहेको थियो।

पुरस्कृत गायिका राधा राई, गायक रेवत राई, गायिका बबिना किराँती, साहित्यकार एमसी सुमित, कवि वेदीकुमार राई, युवा कवि विकास रोकामगरलगायतको प्रस्तुति रहेको थियो। यसअघि सदरमुकाम दिक्तेलमा मात्र सांगीतिक तथा साहित्यिक कार्यक्रम गर्दै आएको प्रतिष्ठानले यस वर्ष धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा तेस्रो वार्षिकोत्सव, पुरस्कार वितरण साहित्यिक तथा सांगीतिक प्रस्तुति कार्यक्रम गरेको हो।

प्रतिक्रिया दिनुहोस्