“डग बुक” विमोचित



बृहस्पति विद्यासदन स्कुल, नक्साल, काठमाडौंमा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय बालक नयन घिमिरेद्वारा लिखित ‘डग बुक’ सार्वजनिक भएको छ।

वरिष्ठ बालसाहित्य लेखक गोपाल पराजुली, बृहस्पति विद्यासदन स्कुलका प्रमुख सल्लाहकार मुरारीनिधि तिवारी, सोही विद्यालयका प्रिन्सिपल सुमन थिङ लामा र एकेडेमिक कोअर्डिनेटर कुमार थापाद्वारा संयुक्तरूपमा विमोचित उक्त कृतिमा विभिन्न ३४ किसिमका कुकुरको तस्वीरसहित संक्षिप्त परिचय समावेश छ। यो किताब पूर्ण रंगीन साजसज्जामा प्रकाशित गरिएको छ। किताबमा पाठकले विभिन्न जातका कुकुरसम्बन्धी रोचक जानकारी पढ्न पाउनेछन्।

सानै उमेरदेखि कुकुरसम्बन्धी विभिन्न जानकारी लिन उत्सुक रहने बालक नयनले यो कृति तयार गर्दा आफूलाई निकै रमाइलो लागेको बताए। उनले आफ्नो मामा डा. सरोज गौतमको हौसलाले यो किताब लेख्न सफल भएको कुरा पनि बताए।

कार्यक्रममा बोल्दै प्रिन्सिपल सुमन थिङ लामाले सानो बालकको किताब प्रकाशन हुनु आफू र आफ्नो विद्यालय परिवारका लागि गौरव भएको विचार व्यक्त गरे। एकेडेमिक कोअर्डिनेटर कुमार थापाले बाल प्रतिभा नयनमा राम्रो वक्ता बन्न सक्ने सम्भावना पनि आफूले देखेको धारणा राख्दै बृहस्पति स्कुल सधैं आफ्नो पहिचानका राम्रा कुरालाई आत्मसात् गर्दै २१औं शताब्दीका बालबालिकाका लागि उपयुक्त शिक्षा दिनमा कटिबद्ध रहेको विचार व्यक्त गरे। घिमिरेकी आमा एवम् एनटीभीकी पत्रकार सुभद्रा गौतमले आफ्नो बालकको सानो किताब निस्किएकोमा अरू आमाजस्तै आफू पनि खुसी भएको धारणा राखेकी थिइन्।

प्रमुख अतिथि वरिष्ठ बालसाहित्यकार गोपाल पराजुलीले निजी विद्यालयले अंग्रेजी र नेपाली दुवै भाषालाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनले आजका बालक अर्थात् विद्यार्थी जान्ने मात्र भएर हुँदैन उनीहरू असल पनि हुनुपर्छ भन्ने विचार व्यक्त गरे।महेश पौड्याल सम्पादित यस कृति बालसाहित्य प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो। यस कार्यक्रमको संयोजन बृहस्पति स्कुलकी मिडिया कोअर्डिनेटर डोल्मा लामा शाहले गरेकी थिइन्।

सानैदेखि कथा सुन्न र पढ्न असाध्यै रुचि राख्ने घिमिरेले नेपाली र विदेशी लेखकका गरी १ हजारभन्दा बढी बालसाहित्य कृतिको अध्ययन गरिसकेका छन्। उनी हरेक दिन नयाँ किताब पढ्न पाए हुन्थ्यो भनेर कुरिरहेका हुन्छन्। उनका मनपर्ने लेखकमा रोल डाल, एनिड ब्लाइटन, हान्स क्रिस्चियन एन्डरसन र कनकमणि दीक्षित आदि हुन्। उनका मन पर्ने चित्रकार अविन श्रेष्ठ हुन्।

प्रतिक्रिया दिनुहोस्