खोई दुई पार्टीबीच एकता ?



नेपालको कम्युनिस्ट पार्टी स्थापना भएको पनि ६९औं वर्ष पार गरिसकेको छ । हरेक वर्ष २२ अप्रिललाई नेपालका कम्युनिस्ट पार्टीहरूले स्थापना दिवसको रूपमा मनाउने गरेका छन् । २००६ साल वैशाख १० गते अर्थात् २२ अप्रिलका दिन भारतको कोलकातामा रहेको श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । पार्टी स्थापनाको १३ वर्षपछि सो पार्टी छिन्नभिन्न मात्र भएन, एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा जनमत कम्युनिस्ट पार्टीको पक्षमा भए पनि सत्तामा भने लामो समय गैर कम्युनिस्टहरूले हालिमुहाली गर्न सफल भएका थिए ।

 

गैर कम्युनिस्टसँग मिलेर सरकार बनाउन उद्यत हुने नेपालका कम्युनिस्टहरू भने एक–आपसमा मिल्न भने सकेका थिएनन् । एक–अर्कालाई यथास्थितिवादी, संशोधनवादी आदिको आरोप लगाउँदै झन्डै ७ दशकसम्म छिन्नभिन्न रहेका नेपालका ठूला कम्युनिस्ट पार्टी पछिल्लोपटक एक–आपसमा गाभिन तयार भएपछि गतवर्ष सम्पन्न प्रदेशसभाको र संसदीय निर्वाचनमा झन्डै दुई तिहाइको हाराहारीमा जित हासिल गरेका छन् । वैशाख ९ गते एकता गर्ने घोषणा गरेका ती ठूला दलका नेताका घमण्डका कारण एकता सम्भव नभएपछि वैशाख १९ लाई एकताको मिति तय गरेका छन् ।

जनमतले छिटोभन्दा छिटो एकता गर्न दबाब दिए पनि ती दलका नेतामा देखिएको अहम् र घमण्डले भने जनमतलाई बिस्तारै अस्वीकार गरेको हो कि भन्ने आशंकासमेत पैदा गराइदिएको छ । हिजो फरक राजनीतिक पृष्टभूमिबाट आएका एमाले र माओवादीमा पछिल्लोपटक देखिएको घमण्डले भने कतै पार्टी एकता नहुने हो कि भन्ने शंकाले बास गरेको छ । पार्टी एकता हुन नदिन देशी–विदेशी तत्व सक्रिय रहेको आरोप दुवै दलका नेताहरूहरूले लगाइरहनु र तोकिएकै समयमा दुई दलबीच एकता नहुनुले एकता नहुने त होइन भन्ने आशंका पैदा भएको छ । एमाले, माओवादी दुवै दलका अध्यक्ष केही दिनदेखि एक्लाएक्लै वार्तामा बस्नुले केही अशा पलाए पनि तोकिएकै दिन एकता नभएपछि अब फेरि तोकिएको मितिमा एकता हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।

पछिल्लोपटक माओवादी केन्द्रका नेताहरूको ५०–५० भए मात्रै पार्टी एकता गर्ने, नभए नगर्ने भन्ने सार्वजनिक अभिव्यक्ति पार्टी एकता भाँड्ने अभिव्यक्तिको रूपमा दुवै दलका अध्यक्षले स्वीकार गरेका छन् । दुवै दलका नेताले पार्टी एकतामा आँच आउने अभिव्यक्ति नदिन पटक–पटक आग्रह गरेका छन् । तर पार्टी पंक्तिबाट त्यस्ता अभिव्यक्ति आइरहनुले दुवै पार्टीभित्र एकता नचाहने तत्वहरू सक्रिय रहेको हो कि भन्ने आशंका गर्न थालिएको छ । जे होस्, पहिलो मितिमा एकता नभए पनि फेरि तोकिएको मितिमा दुई पार्टी एक हुन्, यही शुभकामना !

 

 

प्रतिक्रिया दिनुहोस्