रविनले जिते स्वर्ण, फुपुलाई रजत



नेपाल समाचारपत्र
काठमाडौं
आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको पहिलो दिन शनिबार आयोजक नेपालका लागि एक मात्र स्वर्ण रविन श्रेष्ठले जितेका छन्। ललितपुरको लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम प्रशिक्षण केन्द्रमा भएको च्याम्पियनसिपमा रविनले १ सय केजीमुनितर्फ स्वर्ण जितेका हुन्। उनले फाइनलमा बंगलादेशका मोहम्मद अब्दुल कलाम आजादलाई हराएर नेपालको खातामा एक स्वर्ण जम्मा गरेका थिए। यस्तै पुरुषतर्फकै ९० केजीमुनि तौल समूहमा नेपालका अर्का खेलाडी श्रीराम मकाजू भने रजत पदकमै खुम्चिए। उनले पाकिस्तानका खेलाडी कुइसर खानसँग भीडन्त गरेका थिए। यही स्पर्धामा नेपालका रमेशबहादुर चन्दले कांस्य जिते।

त्यस्तै महिला नेपाली खेलाडीबाट भने सोचेजस्तो प्रदर्शन हुन सकेन। स्वर्णको आशा गरिएका ओलम्पियन फुपु ल्हामु खत्री र मनिता श्रेष्ठ शाहीले आ–आफ्ना तौल समूहमा क्रमशः रजत र कांस्यमै चित्त बुझाए। गत १२औं दक्षिण एसियाली खेलकुदमा जसलाई हराएर स्वर्ण जितिन् उनै खेलाडीसँग फुपु पराजित भइन्। उनी ६३ केजी तौलमुनिको फाइनल प्रतिस्पर्धामा भारतकी सुनीबाला देवी हुइड्रोमसँग ग्राउन्ड टेक्निक (ओसाइकोमी)को आधारमा हारेकी थिइन्। खेलपछि फुपुले विपक्षी खेलाडीले आफूलाई छक्याएको भन्दै बताइन्– ‘उनले अर्कै टेक्निक अपनाइन्। जसले गर्दा मैले स्वर्ण हात पार्न सकिनँ।’

यस्तै ५७ केजीमुनि तौल समूहमा नेपालकी लीला अधिकारीले भारतकी अनिता एन्गोन चानुसँग प्रतिस्पर्धा गरिन्। तर उनी पनि ग्राउन्ड टेक्निककै सिकार हुँदै रजतमै सीमित भइन्। यो स्पर्धामा मनिता कांस्यमै सीमित भएकी थिइन्। अन्य कांस्य जित्ने नेपाली खेलाडीमा महिला ४८ केजीमुनि सुमित्रा राई तथा महिला ५२ केजीमुनि देवीका खड्का र अञ्जु पाण्डे रहेका छन्।
प्रशिक्षक सूर्य श्रेष्ठले नेपाली खेलाडीले राम्रै गरेको प्रतिक्रिया दिए। उनले नेपाल समाचारपत्रलाई बताए– ‘नेपाली खेलाडीको प्रदर्शनलाई राम्रै मान्नुपर्छ। हाम्रो खास मुख्य भिडन्त भनेको भारतसँगै हुन्छ। भारतीय खेलाडीको स्तर हाम्रोभन्दा माथि गइसकेको यो प्रतियोगिताले देखाएको छ।

हुन त उनीहरू ओलम्पिक र एसियनलाई टार्गेट बनाएर प्रशिक्षण गरिरहेका हुन्छन्। हामीले पनि यो प्रतियोगिताका लागि राम्रै तयारी गरेका थियौं।’
प्रतियोगितामा भारत ४ स्वर्ण जितेर पहिलो स्थानमा रहेको छ। यसैगरी पाकिस्तान २ स्वर्णसहित दोस्रो र नेपाल एक स्वर्णसँगै तेस्रो स्थानमा रहेको छ। आइतबार सात स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। तीन दिने प्रतियोगितामा नेपालसहित भारत, भुटान, पाकिस्तान, श्रीलंका र बंगलादेशका गरी १ सय २ खेलाडीले सहभागिता जनाएका छन्। जसमा नेपालबाट महिला र पुरुषमा समान १८÷१८ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्