हात्ती आयो हात्ती आयो फुस्सा !



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन गर्ने भनिएको एकता घोषणा अनिश्चित भएको छ। यी दुई दलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलगत्तै एकता गर्ने प्रतिबद्धता जनाएका थिए। निर्वाचनपछि गत फागुन ७ गते एकताका लागि सातबुँदे आधारपत्रमा सहमति भएको थियो।

एकताका लागि गठित कार्यदलले आज वैशाख ९ गते एकता गर्न सुझाव दिएको थियो। तर विवादित विषयमा सहमति जुट्न नसक्दा आजको एकता ‘हात्ती आयो हात्ति आयो फुस्सा’ भयो। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुरा मिल्न नसक्दा एकता लम्बिँदै गएको छ।

‘जनयुद्ध, चुनाव चिह्न र समान हैसियतमा एकता’ भन्ने विषयमा अझै समझदारी जुटेको छैन। महाधिवेशनपछि अध्यक्ष बन्ने ग्यारेन्टी हुनुपर्ने प्रचण्डले बताएको एमालेको दाबी छ भने ‘जनयुद्ध’ शब्दप्रति एमाले सकारात्मक नभएको माओवादीको जिकिर छ। एमाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित संगठन र नेता रामबहादुर थापाको संयोजकत्वमा रहेको वैचारिक कार्यदलले तयार गरेको अन्तरिम विधान र अन्तरिम राजनीतिक प्रतिवेदनलाई अन्तिमरूप दिन वैशाख ४ गते बसेको पार्टी एकता संयोजक समितिकै बैठकमा कुरा नमिलेपछि त्यसको जिम्मा पुनः दुई अध्यक्षलाई दिइयो तर दुई अध्यक्षको लगातार तीन दिनको ‘वान टु वान’ वार्ताबाट पनि ‘नौनी’ निस्कन सकेन।

यद्यपि एकता घोषणा नभए पनि दुई पार्टीले आजै संयुक्तरूपमा एकताको सन्देश दिने बताइएको छ। एकताको नारा लिएर गठित गठबन्धनले बहुमत ल्याएकाले पछि हट्न नसकिने दाबी पनि गरिँदै आएको छ।

तर दुई पार्टीबीच देखिएको अडानले भने एकता प्रक्रिया अझै धकेलिने देखिन्छ। एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ भने एकताप्रति दुई अध्यक्ष प्रतिवद्ध रहेको दाबी गर्नुहुन्छ।

एकता प्रक्रिया दुई अध्यक्षबीचको विश्वासमा अड्किएको बताइन्छ। एकतापछि आफू अध्यक्ष हुने नहुनेबारेमा प्रचण्डलाई चिन्ता रहेको एमाले सूत्रको दाबी छ।

अध्यक्ष ओलीले नेपाललाई अध्यक्षका रूपमा अगाडि सारेपछि प्रचण्ड झन् ससंङ्कित भएको बताइन्छ। तथापि दुवै पार्टीले कुरा मिले वैशाख १८ गते विश्व मजदुर दिवसका दिन एकता गर्ने भनेर नयाँ मिति तोक्न पनि छाडेका छैनन्।

प्रतिक्रिया दिनुहोस्