वसन्तपुरका कला भुइँखेलमा प्रदर्शन



नेपाल समाचारपत्र
काठमाडौं
विश्व सम्पदा क्षेत्र हनुमानढोका वरपर बसेर १ सय ५० भन्दा बढी कलाकारले पुरातात्विक तथा सांस्कृतिक सम्पदा विषयमा तयार पारेका चित्रकला स्वयम्भूस्थित भुइँखेलमा शनिबार प्रदर्शन गरिएको छ।
कलाकारले सम्पदाको वर्तमान अवस्था, संरक्षणमा भइरहेका पहल, भूकम्पपछिको सम्पदाको अवस्थालाई शुक्रबार क्यानभासमा उतारेका थिए। सांसदद्वय रामवीर मानन्धर र जीवनराम श्रेष्ठले क्यानभास पोतेर शुरु गर्नुभएको कला कार्यशालामा वरिष्ठ कलाकारदेखि कलाका विद्यार्थीसमेतको उत्साहजनक सहभागिता रहेको थियो।

विश्व सम्पदा उत्सव मूल समारोह समितिद्वारा आयोजित कार्यशालामा तयार पारिएका चित्रकृति नगरपालिकाले निर्माण गर्ने सङ्ग्रहालयमा राखिने सांसद जीवनराम श्रेष्ठले जानकारी दिनुभयो। कला कार्यशालामा सहभागी कलाकारलाई उत्साहित गर्न सांसद जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख तथा मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्यलगायत मूल समितिका सदस्यहरू कार्याशाला क्षेत्रमा पुग्नुभएको थियो।

कार्यशालामा बरिष्ठ कलाकारहरू हरिप्रसाद शर्मा, चिनियाकाजी ताम्रकार, उदयचरण श्रेष्ठ, शंकरराज सिंह सुवाल, राधेश्याम मुल्मी, लोक चित्रकार, गौतम रत्न तुलाधर, जीवन राजोपाध्याय, गेहेन्द्रमान अमात्य, राधेश्याम मुल्मी, रमेश खनाल, नारदमुणि हार्तमछाली, केके कर्माचार्य, श्यामलाल श्रेष्ठ, उमाशंकर साह, सुष्मा राजभण्डारी, वीरेन्द्रप्रताप सिंह, रमेश श्रेष्ठ, धनबहादुर याक्खा, अश्रुराम खाइजू, एससी सुमनलगायत कलाका प्राध्यापक, प्राज्ञसमेतको सहभागिता रहेको थियो।

विश्व सम्पदा क्षेत्र हनुमानढोकादेखि स्वयम्भूसम्मको २ दशमलव २ किलोमिटरको ‘हेरिटेज ट्रेक’ को विकासका लागि स्थानीयको पहलमा भइरहेको विविध गतिविधिअन्तर्गत कला कार्यशाला आयोजना भएको मूल आयोजक समितिका सचिव डिल्लीरत्न तुलाधरले जानकारी दिनुभयो।
काठमाडौं महानगरपालिका र युनेस्कोको सहयोगसमेत रहेको सो अभियानअन्तर्गत पदमार्गमा भित्ते चित्रलेखनसमेत गरिएको जनाइएको छ। पदमार्ग मरुगणेश, काष्ठमण्डप, मरुहिटी, सन्तानेश्वर महादेव, मरुबही, बञ्जाहिटी, नरदेवी, लोकेश्वर गल्ली, भुरुङ्खेल, डल्लु चौतारा, भुइखेल हुँदै स्वयम्भू क्षेत्रमा पुग्नेछ। कला कार्यशालामा तयार पारिएका चित्रकृति शनिबार स्वयम्भूको भूँइखेलमा प्रदर्शन गरिएको चित्रकला कार्यशाला उपसमिति संयोजक एवं प्राज्ञ सुष्मा राजभण्डारीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्