नेपालतर्फ पेट्रोलियम पाइपलाइन १ किलोमिटर विस्तार



दीपेन्द्र थापा, काठमाडौं
बहुप्रतिक्षित नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजनाको पाइप हालसम्म एक किलोमिटर बिछ्र्याइएको छ। नेपाल आयल निगमले मंगलबारबाट शुरू पाइप बिछ्याउने काम औपचािरक रूपमा शुरू
गरेको थियो।

निगमले बाराको जितपुर–सिमराबाट पाइप बिछ्याउने काम थालेको थियो। निगमले पेट्रोलियम पदार्थमध्येमा डिजेलको माग हाल बजारमा उच्च रहेकाले डिजेलको मागलाई सम्बोधन गर्नको लागि पहिचो चरणमा पाइपलाइनबाट डिजेल आयात गर्न लागिएको निगमले जनाएको छ।

मोतिहारी–अमलेखगञ्जबाट पाइपलाइन विस्तार हुने छ। मोतीहारी–रक्सौल पेट्रोलियम पाइपलाइन ३२ दशमलव ७८ किलोमिटर रहेको छ भने रक्सौल–अम्लेखगन्ज भने ३६ दशमलव २८ किलोमिटर रहेको छ।

कुल २ अर्ब ७५ करोड भारतीय रुपियाँमा परियोजना निर्माण हुन लागेको हो। त्यसमध्ये आईओसीको २ अर्ब र नेपालको ७५ करोड भारतीय रुपियाँ खर्च हुनेछ। यसमध्ये ७५ प्रतिशत लगानी आईओसी र बाँकी २५ प्रतिशत लगानी नेपाल आयल निगमले गर्नेछ। बरेली नाकाबाट आयात हुँदै आएको पेट्रोलियम पदार्थ भने अब मोतीहारीमानै आईओसीले डिपो निर्माणसँगै सोही स्थानबाट आयात गर्ने छ। भारतबाट ल्याइएको करिब ११ मिटर लम्बाई रहेको १० दशमलव ७५ इन्च मोटाइको माइल स्टिल एमएस पाइपबाट प्रतिघण्टा २ सय ९४ किलोलिटर पेट्रोलियम पदार्थ आयात हुनेछ। रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाका मेकानिक इन्जिनियर सरोजप्रसाद पौडेलका अनुसार हालसम्म ३७ किलोमिटरनै पाइप आएको र बाँकी अरू साना ठूला पाइप आउने क्रममा रहेको बताउनुभयो।

परियोजनाका लागि १० किलोमिटर रेडियोग्रफी टेस्ट भएर बिछ्याउनको लागि तयार गरिएको परियोजनाका व्यवस्थापक इन्जिनियर प्रदीप यादवले जानकारी दिनुभयो।

काम शुरू भएको १५ महिनामा भारतको मोतीहारीबाट निगमको अमलेखगन्जस्थित डिपोमा जोडिने पौडेलको दाबी छ। सन् २०१५ को अगस्ट २४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सो परियोजना निर्माण गर्ने सहमति भएको थियो। सहमतिमा काम शुरू भएको २ वर्षभित्र सक्ने सहमति भए पनि नाकाबन्दीले गर्दा आयोजनाले गति लिन सकेको थिएन भने आयोजनामा दुवै पक्षको नीतिगत निर्णयमा ढिलाइ हँुदा निर्माण प्रक्रिया ढिलो शुरू भएको थियो। पेट्रोलियम पाइपलाइनको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोतीहारी–अम्लेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको चैत २५ गते शिलान्यास गर्दै भएको थियो।प्रधानमन्त्रीले दिल्लीबाट रिमोटमार्फत् परियोजना शुभारम्भ गर्नुे भएको थियो भने मोतिहारीमा पाइप बिछउने काम शुरू गरिएको थियो।

वातावरण अध्ययन गर्ने टोली बारामा
रक्सोल–अंलेखगन्ज पाइपलाइन परियोजनको वातावरणीय प्रभाव मूल्यांकन गर्नको लागि वन मन्त्रालयको ४ सदस्यी टोली स्थालगत अध्ययनको लागि वारा पुगेको छ। टोलीले पथलैयादेखि अंलेखगन्ज क्षेत्रको ८ किलोमिटरमा रहेको ५ हजार रुख कटानको लागि सरोकारवालासँग आइतबार छलफल गर्दैछ। टोलीले सरोकारवाला निकायहरूसँग रहेर छलफल गर्ने र मन्त्रालयमा अन्तिम प्रतिवेदन बुझाउने छ। टोलीले स्थानीय गुनासाको अध्ययनको आधारमा प्रतिवेदन तयार पार्नेछ। सरोकारवाला निकायसँग छलफलपछि टोलीले प्रतिवेदनमा रुख कटानको लागि सकरात्मक अवस्था देखेमा वन मन्त्रालयले आपूर्ति मन्त्रालय हँुदै पर्सा वन्यजन्तु निकुन्जलाई पत्र काट्ने छ र रुख कटानको काम शुरू भएसँगै परियोजनाको पाइप बिछ्याउने कामले गति लिने यादवले बताउनुभयो। हाल बाराको जितपुर, परवानीपुर वन क्षेत्रमा परियोजना विस्तारको समस्या रहेको छ। परियोजनाको शनिबार बाराका प्रमुख जिल्ला अधिकारीसहित, प्रदेश संसद, स्थानीय मेयर, विभागीय प्रमूख र सरोकारवाला निका सहितको बैठकले पाइप विस्तारमा अवरोध रहेको घर टहरालाई डोजर लगाएर हटाउने निर्णय समेत गरेको यादवले बताउनुभयो।परियोजना विस्तारको लागि हाल भारतीय सीमादेखि रजतजयन्ती चोकलगायतमा समस्या रहेको छ।

प्रतिक्रिया दिनुहोस्