सेजमा ठूला औद्योगिक समूहको चासो



काठमाडौं, (नेस)
भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना गर्न ठूला औद्योगिक समूहले चासो देखाएका छन्। विगतमा सेन्ज स्थापना भएपछि खासै चासो नदेखाएका उनीहरूले पछिल्लो समयमा उद्योग स्थापना गर्न चासो देखाएका हुन्।

सेजमा पञ्चकन्या, मुरारका समूहलगायतका ठूला औद्योगिक समूहले उद्योग स्थापनाको लागि आवेदन दिएको सेजले जनाएको छ। यसअघि हुलास स्टिलले उद्योग स्थापना गर्न सम्झौता गरे पनि अहिलेसम्म उद्योग स्थापना भएको छैन।१९ वटा उद्योगले उद्योग स्थापना गर्ने भन्दै आवेदन दिए पनि अन्तिममा १३ वटा उद्योगले मात्र निर्माण स्वीकृति प्राप्त गरेका थिए। सेजमा अझै ३१ वटा उद्योग स्थापना गर्न मिल्ने प्लट बाँकी छ। सेजमा जगदम्बा सेन्थेसिस, किरण सुज, सुगम नानो हर्बल, एसियन थाइफूडलगायतका उद्योगले उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार तयार पार्दैछन्।

उद्योगहरूले १० हजारदेखि २० हजार स्वायर मिटरसम्म औद्योगिक प्रयोजनका लागि जग्गा माग गरेका छन्। नयाँ उद्योगको प्रवेशसँगै आवश्यक विद्युत जडान गर्न नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा रहेको छ। सेजमा उद्योग स्थापना गर्न विद्युत् अभावले नरोकिने प्राधिकरणले स्पष्ट पारिसकेको छ।

पूर्वाधार निर्माण गर्न चाहिने एक मेगावाट विद्युत् समेत तत्काल उपलब्ध हुने प्राधिकरणको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्