सम्पूर्ण आणविक र क्षेप्यास्त्र परीक्षण रोक्काः किम



सोल, (एजेन्सी)
उत्तर कोरियाली नेता किम जोङ उनले शनिबार आफूले सम्पूर्ण क्षेप्यास्त्र परीक्षण रोकेको र आणविक परीक्षणस्थलसमेत बन्द गर्न लागेको जानकारी दिएका छन्। उत्तर कोरियाको सरकारी समाचार निकाय केसीएनएले २१ अप्रिलदेखि प्योङयाङले आणविक परीक्षण कार्य र अन्तर्राष्ट्रिय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण कार्य रोक्ने जनाएको छ।

किमले प्योङयाङको आणविक क्षमताको प्रमाणीकरण भइसकेकाले पनि थप परीक्षणको आवश्यकता नरहेको बताएका छन्। उत्तर कारियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँग ऐतिहासिक वार्ताको तयारी गरिरहेका बेला यो अप्रत्यासित घोषणा सार्वजनिक भएको हो।

किमको दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग आगामी साता भेटवार्ता हुने भएको छ। एक दशकपछि पहिलोपटक अन्तर कोरियाली शिखर वार्ता हुन गइरहेको हो। यसै गरी आगामी जुनतिर किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने अनुमान गरिएको छ।

प्योङयाङमाथि निशस्त्रीकरणका लागि निरन्तर दबाब दिँदै आएका अमेरिका र दक्षिण कोरिया दुवैले उत्तरको पछिल्लो कदमप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्।

यसबारे ट्रम्पले ट्विट गरेका छन्– ‘यो उत्तर कोरिया आफैं र विश्वको ठूलो प्रगतिका लागि राम्रो खबर हो। हाम्रो शिखर वार्ताको प्रतीक्षामा छु।’ यसैबीच दक्षिण कोरियाका राष्ट्रपतिका प्रवक्ताले भनेका छन्– ‘यसले आगामी उत्तर र दक्षिण कोरियाली वार्ता र उत्तर तथा अमेरिकी वार्ताको सफलताका लागि सकारात्मक वातावरण तयार गर्न पनि महŒवपूर्ण योगदान दिनेछ।’

कोरियन सेन्ट्रल न्युज एजेन्सीले सत्तारुढ पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले आणविक तथा क्षेप्यास्त्र कार्यक्रम सम्बन्धमा निर्णय लिएको जनाउको छ।

प्रतिक्रिया दिनुहोस्