सबैभन्दा खतरनाक गनोरियाको सफल उपचार



लन्डन, (एजेन्सी)
विश्वकै सबैभन्दा खराब ढंगले यौन रोग गनौरिया लागेका एक पुरुषको बेलायतमा हालै सफल उपचार भएको छ। उनको उपचारमा खटेका डाक्टरहरूले उनी भाग्यशाली व्यक्ति भएको र अन्य पुरुष यस सुपर गनोरियाप्रति सचेत रहनुपर्ने सल्लाह दिएका छन्।

आफ्नो बेलायती पार्टनर साथमा छँदाछँदै दक्षिणपूर्वी एसियामा एक परस्त्रीसँग यौन सम्पर्क राख्ने क्रममा नाम नखुलाइएका ती व्यक्तिलाई सुपर गनोरिया संक्रमण भएको बताइएको छ। बेलायतमा पहिलोपटक यस्तो रोग पहिले चलाइने एन्टिबायोटिक्सबाट निको नभएको बुझिएको छ।

अहिले अस्ट्रेलियामा पनि दुई पुरुषलाई सुपर गनोरिया लागेको खबर प्राप्त भएको छ। यी बेलायतीले गत वर्ष दक्षिणपूवी एसियाको भ्रमण गरेका थिए। यस रोगको प्रमुख एन्टिबायोटिक्स उपचारको क्रममा दिइएको एजिथ्रोमाइसिन र सेफिट्रयाक्सोनबाट यसको उपचार असफल हुन पुगेको थियो।

पछि उनको एर्टापेनेम नामक एन्टिबायोटिक्सबाट उपचार गरिएको थियो। पब्लिक हेल्थ इंग्ल्यान्डका यौन संक्रमित रोग विभागका प्रमुख डाक्टर ग्वेन्डा ह्युगेसले उनको अन्ततः सफल उपचार भएकोमा खुसी व्यक्त गरेका छन्।

डाक्टरहरूले उनका बेलायती पार्टनरलगायत अन्यमा पनि कतै यो रोग सरेको त छैन भनी लामो अध्ययन र अनुसन्धान गरेका थिए। तर, बेलायतमा यो सुपरवग हालसम्म फैलिन नपाएको स्वास्थ अनुसन्धान क्षेत्रले जनाएको छ।
असुरक्षित योनी, मुख र गुदद्वार यौन सम्पर्कबाट यो रोग सर्ने गर्दछ। यसको लक्षण पहेंलो वा हरियो पदार्थ यौनांगबाट बग्ने तथा पिसाब फेर्दा रगत आउने र दुख्ने गर्दछ। तर, योनी र गुदद्वारमा संक्रमणको लक्षण भने देखिँदैन।

प्रतिक्रिया दिनुहोस्