मेलम्चीको काम फेरि ठप्प मन्त्रीको प्रतिबद्धतामा प्रश्न



सुरेश तामाङ, काठमाडौं
लम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम दुई सातादेखि ठप्प भएको छ। ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सीएमसी रिभेनाले आर्थिक अभाव देखाएपछि सो काम ठप्प भएको हो।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले दाबी गर्नुभयो– ‘निर्माण सामग्री किन्न नसक्दा काम रोकिनुपरेको आयोजनाको जवाफ छ।’ मेलम्चीको सुरुङ खन्ने काम गएको चैत २७ गते सम्पन्न भएपछि उक्त दिनदेखि अहिलेसम्म कुनै काम भएको छैन।

२६ किमि सुुुरुङमध्ये २४ किमिमा फिनिसिङको काम गर्नै बाँकी रहेको जनाइएको छ। १८ महिनाअघि ब्रेक थ्रु भएको सुन्दरी जल–सिन्धु खण्डमा २ किलो मिटरबाहेक फिनिसिङको काम हुन सकेको छैन। फिनिसिङमा सुरुङको पानी बग्ने तल्लो भागमा ढलान, दायाँ–बायाँ र माथिल्लो भागमा प्लास्टर पर्दछ।

यस्तै ड्यामको पुरै काम गर्न बाँकी रहेको छ। अहिलेसम्म ३५ प्रतिशत काम बाँकी रहेको आयोजनाले जनाएको छ। बीचबीचमा काम रोक्ने आयोजनाको शैलीप्रति सरकारले ध्यान दिनुपर्ने स्थानीयबासी बताउँछन्। सुरुङको ब्रेक थ्रु भएको घोषणा गर्न गत चैत २९ गते मेलम्ची भ्याली पुगेकी खानेपानी मन्त्री विना मगरले दशैंअघि नै घरघरमा मेलम्चीको पानी पु¥याउने प्रतिबद्धता जनाउनुभएको थियो।

मेलम्चीबासी नै ‘काकाकुल’
काठमाडौं, (नेस)
२०७४ चैत २९ गते मेलम्चीको २६ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको भन्दै मेलम्ची भ्यालीमा हर्षोल्लास मनाइयो। जहाँ, खानेपानीमन्त्री विना मगर, मेलम्ची खानेपानी आयोजनाका पदाधिकारी, एसियाली विकास बैंकका पदाधिकारी, निर्माण कम्पनी इटलीका सीएससी रिभेनाका कर्मचारी सहभागी थिए।

मेलम्ची भ्यालीमा रहेको आयोजना परिसरमा कार्यक्रमको आयोजना गरिएको थियो। सोही कार्यक्रममा सबैले लामै समय खुसीयाली साटासाट गरे। कोहीले आफ्नो अनुभव साटे भने कोही भावुकसमेत बने। बहुप्रतीक्षित राष्ट्रिय गौरवको रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी ल्याउन २६ किलोमिटर सुरुङ खन्ने काम चैत २७ गते सम्पन्न ग¥यो। नियमित काम भएको खण्डमा दशैंअगावै मेलम्चीको पानी काठमाडौं उपत्यका पु¥याउने लक्ष्य छ।

सबैतिर खुसीयाली छाइरहँदा मेलम्ची भ्यालीका स्थानीयमा त्यस्तो रौनक नै भेटिएन। किनकि उनीहरूलाई आफ्नो बासको चिन्ता त छैन तर खानेपानी पाउने हो कि नपाउने भन्नेमा असाध्यै चिन्ता छ। ‘सुरुङ खन्नुअघि हेलम्बु, इचोक, महांकाल, थकनी, हैबुङलगायतका मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित बस्तीमा खानेपानीको राम्रो व्यवस्था थियो’, ≈वोल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समितिका अध्यक्ष उपेन्द्र तामाङले भन्नुभयो– ‘अहिले यी ठाउँमा खानेपानी सुकिसक्यो।’

सुरुङ खन्न शुरू भएपछि बस्तीमा यस्तो अवस्था सिर्जना भएको हो। सुरुङ खन्नका लागि विस्फोट गर्दा जमिनमुनि थर्किएर खानेपानीको मुहान सबै सुकेको बुझाइ त्यहाँका स्थानीयको छ। ‘हाम्रो अवस्था काकाकुलको जस्तै भइरहेको छ’, तामाङले भन्नुभयो– ‘यस्तो अवस्था भइरहँदा पनि समस्याको समयमै समाधान गरिएन भने मेलम्चीको पानी लान नसोचे हुन्छ।’
मेलम्चीको पानी काठमाडौं उपत्यका लान दिनेमा स्थानीय सबैको सहमति रहेको थियो। त्यसका लागि प्रत्येकको घरघर, बस्तीबस्तीमा खानेपानीको राम्रो व्यवस्था हुनुपर्ने माग रहेको उहाँले बताउनुभयो।

मेलम्ची आयोजनामा देखिएका जल्दोबल्दो र भइपरी आउने समस्यालाई समाधान गर्न सधैं तयारी अवस्थामा रहँदा पनि आफूहरूको भावनालाई आयोजनाले नबुझेको उहाँको भनाइ छ। उहाँले यस्तो अवस्थामा पनि आफूहरूको माग सुनुवाइ नभएको भन्दै कहीं आफूहरू बत्तीमुनिको अँध्यारोमा रुमलिन बाध्य हुनुपर्ने पो हो कि भन्ने चिन्ताले सताउन थालेको बताउनुभयो।
त्यस्तै मेलम्चीको सुरुङ खन्न शुरु भएपछि पहिरो जान थालेको भन्दै पहिरोले कैयौँ बस्ती जोखिममा परे पनि आयोजनाले बेवास्ता गरेको उहाँले दुखेसो पोख्नुभयो। पहिरोकै कारण हेलम्बु गाउँपालिका–१ का चारटोङ, महांकालको ३, ४ बस्तीसमेत जोखिममा परेको छ।

‘बस्ती जोखिममा रहेको, खानेपानीको समस्या रहेको आयोजनालाई जानकारी गर्दा अध्ययन टोली, बनिसकेको, अध्ययन भइसकेको भन्ने जवाफ आउँछ तर त्यस्को के निचोड निस्कियो भन्ने प्रतिवेदन चाहिँ देखाउँदैन’ –तामाङको भनाइ थियो।

सिन्धुपाल्चोकका तत्कालीन ३० गाविस र काभ्रेका ५ गाविसलाई प्रभावित क्षेत्रको सूचीमा राखिएको थियो। यस क्षेत्रका झन्डै १५ लाख जनसंख्या आयोजनाको प्रभावित सूचीमा पर्छन्। ती प्रभावित क्षेत्रमा सामाजिक उत्थानका कार्यक्रम पनि राखिएको थियो।

आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले सुरुङ खन्ने कामले गर्दा खानेपानीको मुहान सुक्ने, पहिरो जाने नहुने दाबी गर्नुभयो। ‘टनेल खन्ने कामले गर्दा पानीको मुहान सुक्ने, पहिरो जाने हुँदैन’, अलिअलि पानी रसाउँछ तर त्यो पानीलाई सिल गर्छौं। सिल गरे पनि पहिलाको जस्तै गरी पानीको स्रोत रहन्छ’ –पन्तले भन्नुभयो। सुरुङ खन्दा विस्फोटक पदार्थ प्रयोग हुने भएर बस्तीमा ठूलै क्षति हुने स्थानीयमा लाग्नु स्वाभाविक रहेको उहाँले बताउनुभयो। ‘सुरुङ खन्ने भनेपछि विस्फोटन गराएर बस्तीमा ठूलै क्षति हुने स्थानीयमा डर हुनु स्वाभाविक हो’, उहाँले भन्नुभयो– ‘यसै बेला बस्तीमा पानी सुक्नु र पहिरो जानु संयोग मात्रै हो। हाम्रै कारणले बस्तीमा पानी सुक्ने र पहिरो गएको होइन।’ आयोजनाको कामले बस्तीमा असर नगरेको उहाँले दोहो¥याउनुभयो।

प्रतिक्रिया दिनुहोस्