लोपोन्मुख पञ्चैबाजा संरक्षण गर्दै गाउँपालिका



हेटौंडा । नेपाली मौलिक बाजा र सँस्कृतिको रुपमा परिचित पञ्चैबाजा बज्ने बित्तिकै सबैलाई आनन्द र खुशी लाग्छ । तर, नेपालीको मन छुन सफल पञ्चैबाजा पछिल्लो समय लोप हुन थालेको छ ।

राज्यले स्थानीयस्तरमा रहेको लोकप्रिय पञ्चैबाजा संरक्षण र सम्वद्र्धनका लागि पहल नगरेको समयमा मकवानपुरको बिकट राक्सीराङ गाउँपालिकाले भने यसलाई एक महत्वपूर्ण कार्यको रुपमा लिएको छ । पञ्चैबाजा बजाउने नेपाली समुदायका युवा सामाजिकरुपमा उपेक्षित हुनुपर्ने भएकाले गाउँपालिकाले १० जनाको समूह बनाएर बाजा बजाएर पुख्र्यौली पेशाप्रति समुदायका युवालाई आकर्षित गर्न बजेट छुट्याएको छ ।

गाउँपालिकाले राक्सीराङ नौमती पञ्चैबाजा समिति गठन गरेर एक लाख ६० हजार बजेट छुट्याएको छ । गाउँमा विवाहलगायत शुभकार्यमा पञ्चैबाजा बजाउने चलन हराउन नदिन र गाउँमा युवालाई रोजगारी दिने लक्ष्य राखेर समिति गठन गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

पछिल्लो समय पञ्चैबाजा प्रयोग हट्दै गएको र बाजा बजाउने समुदायले आफ्नो पेशा परिवर्तन गरेका कारण यसलाई जोगाउनु आवश्यक रहेको मल्लले बताउनुभयो ।

१० जना समूहको समितिमा सबै परियार छन् । पुर्खाको कामलाई बचाइराखिने समिति अध्यक्ष मानबहादुर परियारले बताउनुभयो । ‘गाउँमा पहिला जस्तो अहिले बाजा बजाउने युवा पाइँदैनन्,’ परियारले भन्नुभयो । उहाँको अनुभवमा पहिला राति विवाह हुने हुनाले बाजा बजाउने काम बढी हुन्थ्यो तर हाल केही घण्टामै विवाह सम्पन्न गर्ने चलन छ । पहिलाजस्तो गरी रमाइलो गर्ने र बाजा बजाउने चलन करिब अन्त्य भएको छ । समाजमा पञ्चैबाजामात्र होइन, उक्त बाजा बजाउन जान्ने पुस्तासमेत लोप हुने अवस्थामा रहेको उहाँको भनाइ छ ।

पञ्चैबाजा बजाउनेलाई दाउरा सरुवालको व्यवस्था गरिएको छ । बाजालाई राज्यबाट संरक्षणका लागि चासो देखाउन नसके पनि नेपाली कला, सँस्कृति र नेपालीपन संरक्षण गर्न लागिपर्ने गाउँपालिका अध्यक्ष मल्लले प्रतिवद्धता जनाउनुभयो ।
पञ्चैबाजा, नेपाली धार्मिक एवम् साँस्कृतिक बाजाका रुपमा प्रयोग हँुदै आएको मौलिक सँस्कृतिको धरोहर हो ।

यो बाजा विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजाआजा आदि धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ ।
नेपाली सँस्कृतिमा कुनै ठूलो कार्य गर्दा साइतको महत्व हुन्छ । त्यस्ता साइतमा मंगलधुन बजाएर उक्त साइतलाई शुभ बनाउने चलन छ । मंगलधुन बजाउन पञ्चैबाजा सबभन्दा प्रचलित बाजा हो । नेपालमा आधुनिक ब्याण्ड बाजासँग पञ्चैबाजाले प्रतिस्पर्धा गर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्