सुनापती गाउँपालिकाको हिलेदेवीमा बन्यो बौद्ध अध्ययन केन्द्र



रामेछाप । सुनापती गाउँपालिका–३ हिलेदेवीको आरुखर्कमा शेरपवलिङ् महायान बौद्ध धर्म अध्ययन केन्द्र गुम्बाको निर्माण कार्य सम्पन्न भएको छ । बौद्ध धर्मको प्रबद्र्धन गर्नको लागि अध्ययन केन्द्रको निर्माण गरिएको हो ।

३९ लाख रुपैयाँको लगानीमा अध्ययन केन्द्र निर्माण कार्य सम्पन्न भएको शेरपलिङ महायान बौद्ध धर्म अध्ययन केन्द्र उपभोक्ता समितिका अध्यक्ष आले लामाले बताउनुभयो । अध्ययन केन्द्रमा एउटा हल र चार वटा कोठा रहेको छ । अध्ययन केन्द्रलाई बौद्ध धर्मको अध्ययन केन्द्रसँगै धार्मिक पर्यटनको केन्द्र बनाउने उदेश्यको साथ निर्माण गरिएको लामाले बताउनुभयो ।

‘बौद्ध शिक्षालाई विकास गर्ने उदेश्यको साथ स्थानीयको सक्रियता र दाताको सहयोगमा अध्ययन केन्द्र निर्माण गरिएको हो’, अध्यक्ष लामाले भन्नुभयो । अध्यक्ष केन्द्रको लागि स्थानीय सरस्वतीमाया तामाङले डेढ रोपनी जग्गा निशुल्क रुपमा उपलब्ध गराउनभुएको थियो ।
अध्ययन केन्द्र स्थापना गर्नको लागि सुनापती गाउँपालिकाले ६ लाख, सांसद विकास कोषबाट तीन लाख, विभिन्न धर्मगुरुहरुबाट १२ लाख पचास हजार, स्थानीयको सहयोग गरी आर्थिक सहयोग जुटाइएको अध्यक्ष लामाले बताउनुभयो ।

उहाँका अनुसार गुम्बाको लागि तीन वटा मुर्ति निशुल्क रुपमा उपलब्ध भएको छ । फाइभ फिङगर प्रालिले २ लाख २० हजार रुपैयाँमा एउटा मुर्ति निशुल्क रुपमा प्रदान गरेको छ । काठमाडौका स्थानीय तारोदेवीले दुई लाख रुपैयाँ बराबरको मूर्ति उपलब्ध गराउनु भएको छ त्यसैगरी पूर्व सांसद शिबबहादुर खड्काले १ लाख रुपैयाँको मुर्ति उपलब्ध गराएका गराएको उहाँले बताउनुभयो । अध्ययन केन्द्रमा बौद्ध दर्शन सम्बन्धि अध्ययन गराउनको साथै आधुनिक शिक्षासँग जोडेर परम्परागत रुपमा पठनपाठन हुँदै आएको शिक्षालाई एक साथ अगाडि बढाउने उदेश्य रहेको लामाले बताउनुभयो ।

नवनिर्मित शेरपलिङ महायान बौद्ध धर्म अध्ययन केन्द्र गुम्बाको गुरु क्याब्ज्ये शेछेन राब्ज्याम रिन्पोछेले उदघाट गर्नुभएको छ । उदघाटन कार्यक्रममा प्रदेशसभाका सांसद हिमाली गोले, अन्तर्राष्ट्रिय बौद्ध संघका अध्यक्ष धर्मगुरू थुप्तेन जिक्डोल, सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा,नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य कर्म रिन्छेन,नेपाल ञिङमा संघका उपाध्यक्ष खेन्पो घ्यूरमे छुल्ठिम,गेलुक संघका अध्यक्ष तथा नेपाल बौद्ध धर्म परिचय समाजका महासचिव आचार्य थुपतेन तामाङ, सुनापती गाउँपालिका–३ हिलेदेवीका अध्यक्ष बाबुराम तामाङ, तामाङ फाउन्डेसन रामेछापका अध्यक्ष राजिब मोक्तान लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्