घातक ‘हाइपरसोनिक मिसाइल बनाउँदै अमेरिका



वासिंगटन । रूस र चीनबाट बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिकाले पनि हाइपरसोनिक मिसाइल बनाउन सुरु गरेको छ । अहिलेको अवस्था हेर्ने हो भने अमेरिका र रूसको सम्बन्ध धेरै तल ओर्लेको छ ।

चीनसँग पनि दक्षिणी चीनसँगको विवादका कारण अमेरिकाले धम्की दिँदै आएको छ । यसैको मध्यनजर गर्दै अमेरिकी वायुसेनाले हाइपरसोनिक मिसाइल बनाउन एक मिलियन डलर खर्च गर्ने भएको छ । यसका लागि लकहिड मार्टिनलाई ९ सय २८ मिलियन डलरको ठेक्का पनि दिइसकेको छ ।

यो मिसाइल आवाजको गतिभन्दा छिटो हिँड्न सक्षम हुन्छ । हाइपरसोनिक कम्बेन्सनल स्ट्राइक ओपन प्रोग्रामको दिशामा यो ठूलो कदम हो । यसबाहेक अमेरिकाले बुस्ड ग्लाइड प्रोग्राम पनि तयार गर्दैछ । यो डापरामार्फत तयार गरिदैँ छ । यी दुवै अत्याधुनिक मिसाइल बनाउन लागिएको हो, जसलाई अमेरिकी जेटको माध्यमले प्रहार गर्न सकिनेछ । हाइपरसोनिक मिसाइलले भविष्यमा युद्धको तरिका बदल्न ठूलो भूमिका निभाउनेछ ।

अमेरिकी रक्षा विभागका अधिकारी हाइपरसोनिक मिसाइलले अहिलेसम्मका मिसाइल सिस्टमलाई निकम्मा बनाउँदै आक्रमण गर्न सक्षम हुने खुल्लैरूपमा बताउने गर्दछन् । यसको सिधा अर्थ हो कि अमेरिका आफूमाथि हुने कुनै पनि प्रकारका न्युक्लियर आक्रमणलाई निकम्मा बनाउने योजनामा काम गरिरहेको छ । आवाजको गतिभन्दा तीव्र वा ५ म्याकभन्दा तीव्रता भएको मिसाइललाई हाइपरसोनिक भनिन्छ । यो मिसाइललले कुनै पनि प्रकारका मिसाइल व्यवस्थालाई समाप्त पार्दछ ।

पेन्टागन रिसर्च एन्ड डेभलपमेन्टका प्रमुख माइकल ग्रिफिन भन्छन्, यस्तो किसिमको मिसाइल बनाउने क्षमता चीन र रूस दुवैसँग छ, यसले पनि अमेरिकालाई खतरा हुन सक्छ । उनले हाइपरसोनिक मिसाइल पहिलो प्राथमिकता भएको बताएका छन् । ‘यस्तो खतरालाई मध्यनजर गर्दै अत्यन्त कम समयमा लडाकु विमानबाट प्रहार गरेर विपक्षीको आक्रमण निस्तेज पार्ने मिसाइल हामीलाई आवश्यकता भएको हो’ उनले भने ।

अमेरिकी परीक्षण असफल
अमेरिकाले यसै वर्षको फेब्रुअरीमा हाइपरसोनिक मिसाइलको परीक्षण गरेको थियो, तर असफल भएको थियो । लञ्चको ४ सेकेन्ड पछि नै यसको सिस्टममा गडबडीका कारण यसलाई नष्ट गरिएको थियो । यो मिसाइल ३५ सय मिल प्रतिघण्टाको गतिले उड्न सक्थ्यो र आधाघण्टामै संसारको कुनै पनि कुनामा पुगेर आफ्नो लक्ष्यमा आक्रमण गर्न सक्थ्यो ।

यसको जानकारी दिँदै पेन्टागनले भनेको थियो प्राविधिक गडबडीले यसको नियन्त्रण कन्ट्रोलभन्दा बाहिर जान सक्थ्यो, तर यसलाई नष्ट गरियो । यो मिसाइल २ फेब्रुअरीमा अलास्काको कोडिएक लञ्च सेन्टरबाट लञ्च गरिएको थियो । एडवास्ड हाइपरसोनिक हतियारको निर्माण सान्डिया नेसनल ल्याब्रोटरी र सेनाले ३ चरणमा गरेको थियो । यसको परीक्षण असफल भएपछि अमेरिकालाई ठूलो झट्का लागेको थियो ।

कस्तो हुन्छ हाइपरसोनिक मिसाइल
यस्तो किसिमको मिसाइलहरू एउटा हाइपर सोनिक ग्लाइड मिसाइल हुन्छ । यसमा खास कुरा भनेको क्रुज र ब्यालेस्टिक मिसाइल दुइटैको गुण मिसिएको हुन्छ । ब्यालेस्टिक मिसाइल पृथ्वीको वायुमण्डलबाट बाहिर गएर एउटा प्याराबोलिक पथमा जान्छ र फेरि पृथ्वीको वायुमण्डलमा प्रवेश गर्छ । यस किसिमको मिसाइलको मारक क्षमता ३ देखि ७ हजार किलोमिटरसम्म हुन्छ ।

यसलाई हाइपरसोनिक एचजिबी पनि भनिन्छ । यो वायुमण्डलको तलबाट उडछ र यसैकारण यसलाई इन्टरसेफ्ट गर्न पनि सजिलो हुँदैन । चीनका रक्षा जानकार भन्छन् यसले अमेरिकाको एन्टी मिसाइल सिस्टमलाई असफल बनाउँदै आफ्नो काम गर्न सक्छ । यसैकारण यसको मारक क्षमता बढ्छ, यसैले यसले एन्टी मिसाइल सिस्टमलाई चुनौती दिन्छ । कतिपय देशले ब्यालेस्टिक मिसाइललाई रोक्न मिसाइल डिफेन्स सिस्टम बनाएका छन्, तर एचजिबीलाई यसले रोक्न सहज छैन । अहिलेको अवस्थामा अमेरिका, रूस र चीनसँग मात्र एचजिबीको क्षमता छ ।

रूसले गरिसकेको छ सफल परीक्षण
अमेरिकालाई यसकारण पनि हडबडी छ की रूसले गत महिना नै आफ्नो नयाँ हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिसकेको छ । ‘जिरकोन’ नामको यो हाइपरसोनिक एन्टी–सिप मिसाइलको गति ७ हजार ४ सय किलोमिटर प्रतिघण्टा रहेको बताइएको थियो ।

यो मिसाइलको सबैभन्दा ठूलो कुरा एकपटक प्रहार गरेपछि त्यसलाई रोक्न असम्भवजस्तै थियो । रूसको यो मिसाइलले अमेरिकाको होस् उडाएको छ । यो परीक्षण यस्तो बेलामा गरिएको छ की सिरियासमेत कतिपय विषयमा अमेरिका र रूसबीच रस्साकस्सी चलिरहेको छ ।

रूसी जानकार त यहाँसम्म भन्छन् की यो तेश्रो विश्वयुद्धको कारण पनि बन्न सक्छ । केही विशेषज्ञ दुई देशबीच शितयुद्धको दोश्रो संस्करण चलिरहेको बताउँदै यो धेरै घातक सावित हुँदै गएको दाबी गर्छन् । रूसको यो मिसाइलको मारक क्षमता ४ सय किलोमिटरसम्म छ र यसलाई सन् २०२२ सम्ममा सेनामा सामेल गराइनेछ । यो मिसाइलमा स्क्रैमजेट इन्जिनको प्रयोग गरिएको छ जसले हावाबाट अक्सिजनको प्रयोग गर्छ । यो मिसाइलमा चालक बस्ने भाग नै छैन ।

चीनसँग पनि छ हाइपरसोनिक मिसाइल
चीनसँग पनि ब्यालेस्टिक हाइपरसोनिक मिसाइल डिएफ–१७ छ । यसले अमेरिकाको कुनै पनि कुनामा मार गर्न सक्षम छ । यसको रेन्ज १२ हजार किलोमिटरसम्म छ । चीनको डिएफ –१७ एक घण्टामा अमेरिका पुग्न सक्छ ।
–एजेन्सी

प्रतिक्रिया दिनुहोस्