उत्तर कोरियाद्वारा क्षेप्यास्त्र र पारमाणविक परीक्षण केन्द्र बन्द गर्ने



काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले सबै क्षेप्यास्त्र परीक्षणहरू स्थगित गरी पारमाणविक परीक्षण केन्द्र बन्द गर्ने बताएका छन् ।
उत्तर कोरियाली नेता उनले अप्रिल २१ बाट उत्तर कोरियाले पारमाणविक र अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षण बन्द गर्ने बताएका छन् । नेता उनले शान्ति तथा आर्थिक वृद्धि हासिल गर्ने उद्देश्यका साथ क्षेप्यास्त्र परीक्षण र पारमाणविक परीक्षण केन्द्र बन्द गर्ने निर्णय गरेकोे सरकारी सञ्चारमाध्यम कोरियाली सेन्ट्रल न्यूज एजेन्सीले जनाएको छ ।

बिहीवार नै दक्षिण कोरियाली राष्ट्रपति मूनले उत्तर कोरिया पूर्ण रूपमा निशस्त्रीकरणका लागि तयार रहेको बताएका थिए । क्षेप्यास्त्र परीक्षणहरू बन्द गर्नेे घोषणापछि ट्वीट गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरिया र विश्वकै लागि एकदम सुखद खबर भएको बताएका छन् । यसअघि बिहीवार ट्रम्पले उत्तर कोरिया निशस्त्रीकरणमा गए उसका लागि उज्यालो बाटो उपलब्ध हुने बताएका थिए ।

किमले दक्षिण कोरियाली समकक्षी मून जे–इनसँग आउने हप्ता भेटवार्ता गर्दैछन् । त्यर्सैगरी नेता किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि आउँदो जुनमा एउटा अभूतपूर्व शिखर बैठक गर्ने अपेक्षा गरिएको छ । यस अधि किमसँग सीआइए प्रमुखले भेटेको ट्रम्पद्वारा पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्