वेंगरको साम्राज्य आर्सेनलमा अन्त्य



लन्डन, (एजेन्सी)
फ्रेन्चम्यान आर्सेन वेंगरले मेनेजर पदबाट राजीनामा दिने घोषणा गरेपछि उनको आर्सेनलमा लगाएको २२ वर्ष लामो साम्राज्य अन्त्य हुने भएको छ । नर्थ लन्डनको क्लबमा उनको यो सिजन अन्तिम हुने वेंगरले शुक्रबार घोषणा गरेका हुन् ।
प्रिमियर लिग क्लबमा सबैभन्दा लामो समयसम्म मेनेजर पदमा रहेको वेन्गरले १९९६ मा क्लबको नेतृत्व लिएका थिए । ६८ वर्षीय मेनेजरले नागोया ग्राम्पस एटबाट बु्रस रियोचलाई स्थानान्तर गरेका थिए ।

नयाँ वर्ष २०१७ को इभमा आर्सेनलले वेस्ट ब्रोमसँग १–१ बराबरी खेलेको खेलसँगै वेंगर प्रिमियर लिगको इतिहासमा सबैभन्दा बढी शीर्ष खेलहरुको अनुभव प्राप्त गर्ने मेनेजर बनेका छन् । ८ सय २३ शीर्ष खेलहरुसँगै उनले म्यानचेस्टर युनाइटेडका पूर्व मेनेजर सर एलेक्स फेरुग्सनलाई पछि पारेका छन् । ती प्रिमियर लिग खेलमध्ये वेंगरले ४ सय ७३ खेलमा जित्दा १ सय ९९ मा बराबर र १ सय ५१ मा हारको नतिजा बेहोरेका छन् ।

वेंगरको नेतृत्वमा आर्सेनलले ३ प्रिमियर लिग, ७ एफए कप र ७ वटै कम्युनीटी शील्डमा उपाधि जितेको छ । वेंगरले आफनो कार्यकालको पहिलो १० वर्षमा यी ११ प्रमुख उपाधि जितेका थिए । त्यस्तै पहिलो ८ वर्ष मा प्रिमियर लिग उपाधि तीन पटक जितेको थियो । पछिको १२ वर्षमा कुनै पनि प्रमुख उपाधि उनले दिलाउन सकेनन् । त्यस्तै उनले २२ वर्षको मेनेजर करियरमा आर्सेनललाई कुनै पनि युरोपियन उपाधि दिलाउन सकेका छैनन् ।

वेंगरकै नेतृत्वमा आर्सेनलका शीर्ष गोलकर्ता थिएरी हेनरी (२२८ गोलसँख्या) रहेका छन् । उनको यो गोलसंख्या हाल कसैले पनि पार गर्न संभव नभएको पनि वेंगरले बताएका थिए । दोस्रो स्थानमा रोबिन भान पर्सीको १ सय ३२ गोलसंख्या हेनरीको भन्दा झण्डै ९६ गोलले पछि रहेका छन् । वेंगरले सबैभन्दा बढी चेल्सीसँग ६२ खेलमा सामना गरेका छन् । जसमा २३ मा जित र २१ मा हारका साथै १८ खेल बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्