‘अन्डरपास’अन्तिम चरणमा



काठमाडौं, (नेस)
कलंकी चोकमा बनिरहेको ‘अन्डरपास वे’को काम अन्तिम चरणमा पुगेको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ।

योजनाका इन्जिनियर निरञ्जन शर्माका अनुसार योजनाअन्तर्गतको अन्डरपास बनाउने काममा ९५ प्रतिशत भौतिक प्रगति भएको छ। चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा बनिरहेको सो ‘अन्डरपास वे’मा अहिले दुवैतर्फबाट छिचोलेर, फिनिसिङका कामहरू भइरहेको उहाँले दाबी गर्नुभयो।

१५ महिनाअघि शुरू गरिएको अन्डरपासको निर्माण कार्यले १० दिनअघि मात्रै अन्डरपासलाई दुवैतर्फबाट छिचोलेको थियो। ‘जुनको अन्तिममा अन्डरपासको काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।’ –इन्जिनियर शर्माले थप्नुभयो।
अन्डरपास सम्पन्न नहुन्जेल उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रु र चक्रपथको यात्रा गर्ने यात्रुले ट्राफिक जाम भोग्दै आइरहेका छन् भने अन्य यात्रुहरू घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ।
उक्त कार्यका लागि ८ सय मिटर लामो अन्डरपासमा २० देखि ३४ मिटर गहिराइसम्म गई पाइलिङ गरिएको छ। ४ लेनको यस अन्डरपासमा १० टनसम्मको सवारी गुडाउँदा ८ देखि १० वर्षसम्म टिकाउ हुने निर्माण पक्षले दाबी गरेको छ।

अन्डरपासमाथि पुल हुनेछ। अन्डरपास बनेपछि थानकोटबाट कालिमाटीतर्फ गुड्ने सवारी साधन अहिलेकै अवस्थाअनुासर र चक्रपथ परिक्रमा गर्ने सवारीहरू पुलमुनिबाट गुड्नेछन्। यस्तै कालीमाटीबाट स्वयम्भँ जाने सवारी माथिबाटै र थानकोटबाट बल्खु तथा स्वयम्भँ जाने सवारी दायाँबाट जानेछन्।

प्रतिक्रिया दिनुहोस्