लिली बिलीलाई ७ दिनमा पौने ५ करोड



नायक प्रदीप खड्काद्वारा अभिनित फिल्म लिली बिलीले दोस्रो सातामा प्रवेश गरेसँगै ७ दिनमा पौने ५ करोडको ग्रस कलेक्सन गरेको छ।

फिल्मका निर्माता गोविन्द शाहीका अनुसार लिली बिलीले बिहीबारसम्म ४ करोड ७५ लाख रुपियाँको व्यापार गरेको छ। ‘फिल्म दोस्रो सातामा प्रवेश गरेसँगै यसको क्रेज पनि बढेको छ’, शाहीले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने– ‘‘शनिबारको शो टिकट बुकिङका आधारमा अहिले नै हाउसफुल देखिइसकेको छ।’

गत चैत ३० गतेबाट दर्शकमाझ अएको चलचित्र लिली बिलीले अहिले पनि दर्शकको मन जितिरहेको छ। ४ साता अघिबाट प्रदर्शनमा आएको शत्रु गतेसँगै थप २ नेपाली फिल्मसँग जुधेर पनि फिल्मले सोचेभन्दा राम्रो व्यापार गरेको निर्माणपक्षको दाबी छ। प्रेमकथामा बनेको फिल्मलाई विशेष गरी नयाँ पुस्ताले मन पराएका छन्।

फिल्मले दोस्रो साता पनि राम्रो व्यापार गर्नेमा आफँ विश्वस्त रहेको निर्देशक मिलन चाम्सले बताए। कथाको मागअनुसार विदेशमा छायांकन गरेर बलिउडस्तरको फिल्म तयार पारेको निर्देशक चाम्सले दाबी गरे। फिल्ममा नायक प्रदीप खड्का र नवनायिका जसिता गुरुङको जोडीलाई मन पराइएको छ। प्रदीप र जसितासँगै प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, धुव्र दत्तलगायतका कलाकारले अभिनय गरेको लिली बिली गोविन्द शाही, सुदीप खड्का र मिलन चाम्सले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्