सर्वोच्चले छाडेको नेपाली चेली बेच्ने कांग्रेस नेता तामाङ फेरि पक्राउ



काठमाडौँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङ फेरि पक्राउ परेका छन् । थुनामा रहेका उनलाई सर्वोच्च अदालतले बिहीबार थनामुक्त गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि शुक्रबार छुटेलगत्तै उनी फेरि पक्राउ परेका हुन् ।

तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले केन्द्रीय कारागार अगाडिबाटै उनलाई पक्राउ गरेको हो । बन्दी प्रत्यक्षीकरण मुद्दामा वडा नम्बर र बुबाको नाम फरक परेको भन्दै सर्वोच्चले सुनबहादुरलाई छाड्ने आदेश दिएको थियो ।

उनलाई २०५३ सालमा दुई किशोरीलाई झापा हुँदै भारत बेच्न लैजान लागेको मुद्दामा ६ वर्ष कैद सजाय भएको थियो । उक्त मुद्दाको अभियुक्त आफ्नो बुबा नभएको भन्दै सुनबहादुरका छोराले बन्दी प्रत्यक्षीकरण मुद्दा हालेका थिए ।

गएको चैत ७ मा नुवाकोट जिल्ला अदालतले भने उनलाई मानव बेचबिखन मुद्दामा ३७ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । सोही मुद्दामा उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । फैसला कार्यान्वायनका लागि सिआइबीले उनलाई आइतबार अदालतमा पेश गर्नेछ ।

उनीविरुद्ध मानव बेचबिखन सम्बन्धी अन्य २ मुद्दामा अदालतमा विचाराधीन छन् । २ महिनाअघि नयाँ मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई ८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको छ ।

तामाङ विगत २५ वर्षदेखि युवती बेचबिखनमा संलग्न रहेको प्रहरीले जनाएको छ । भारतको दिल्ली तथा मुम्बईमा उनले कोठी चलाउँदै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ । गएको स्थानीय तह निर्वाचनमा उनी नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्