सबै सम्पत्ति स्वाहा



सलिम अन्सारी, प्यूठान । बिहिवार साझ आईलागेको बिपदले ठाडिओडारका स्थानिय कमल थापा र उनकी श्रीमती माया थापालाई घरबाट उठिबास लगायो ।

उनिहरुको ६ जनाको परिवार छिमेकीको घरमा विस्थापीत हुन वाध्य भए । ‘घर जलेर खरानी भयो, हामी बर्बाद भयौं’ कमल थापाले भने, ‘हेर्दा हेर्दै सबै स्वाहा भयो ।’ उनको ७५ बर्षिया हजुरवुवा रेउत बहादुर थापाको आगलागीमा जलेर मृत्यु भएको छ ।

आगलागीमा हजुरवुवासँगै सुन–चाँदीका गरगहना र नगद समेत खरानी भएको छ । राम्ररी बोल्न सक्ने अवस्थामा समेत नरहेकी उनकी श्रीमती मायालाई आफन्तजनले सम्झाइरहेका थिए । शरीरमा लाएको एकसरो लुगा बाहेक केही बाँकी नरहेको स्थानिय एम बहादुर थापाको परिवार उस्तै पीडामा छ । संस्थाको ऋृण तिर्न र कुलो मर्मतका लागि भनेर राखेको ९१ हजार रुपैयाँ नगद डढेको अर्की अग्निपीडित काली थापाले बताइन् ।

जिल्लाको सरुमारानि गाउंपालिका वडा नम्बर ६ ठाडीओढारमा कमल थापाको घरबाट सुरु भएको आगोले संगै जोडिएका ५ घर खरानी बनायो । आगलागीबाट बिपन्न परिवारका कमल सहित दिपक, एम, धन र मीन बहादुर थापाको एकसाथ सम्पती स्वाहा बनायो । आगलागीले एक सुत्केरी महिला सहित ४० जना बढीको बिचल्ली भएको छ ।

स्कुल पढ्ने आधा दर्जन बालबालिका समेत यो बिपदका कारण प्रभावित बने । गोठ मै रहेका दुई दर्जन बढी पशु चौपाया समेत जलेको प्रहरीले बताएको छ । आगलागीका कारण ५ घरधुरीको ७० लाख बरावरको क्षती भएको प्युठानका प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताए ।

अग्नि पीडितलाई राहत

यसै बिच,पीडित परिवारलाई शुक्रवार राहत बितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको बिपद ब्याबस्थापन समितीको अगुवाईमा रेड्क्रस, कालिका बिकास केन्द्र नेपाल, फुलबारी एकीकृत ग्रामिण बिकास संस्था,प् युठान उद्योग बाणिज्य संघ लगायतको टोलिले आगलागी स्थलमै पुगेर पिडितहरुलाई राहत बितरण गरेको हो ।

घरगोठ जलेकालाई बिपद ब्याबस्थापन समितीले प्रतीपरिवार दस/दस हजार रुपैयाको दरले नगद बितरण गरेको समिति संयोजक एवं प्रजिअ डा. कृष्ण बहादुर घिमिरेले बताए । रेड्क्रस सहितका सामाजिक संघसंस्थाले पीडितहरुलाई खाधान्न, लत्ताकपडा,त्रीपाल, भाँडा लगायतका सामाग्री बितरण गरेको छ ।

त्यस्तै आगलागिबाट घरबार बिहिन भएका पीडित परिवारलाई सरुमारानी गाउपालिका अध्यक्ष झग बहादुर बिश्वकर्मा सहितको जनप्रतिनिधी सम्मिलित टोलिले खाधान्न, कपडा सहित प्रतिपरीवार नगद १५ हजार उपलब्ध गराएको छ । मृतक परिवार आफन्तलाई क्रीया खर्च स्वरुप २५ हजार नगद प्रदान गरिएको अध्यक्ष बिश्वकर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्