बिना संशोधन विधान पास क्यानको निलम्बन फुकुवा हुने विश्वास



फिरोज राजोपाध्याय, काठमाडौं

नेपाल क्रिकेट संघ (क्यान) को बिहीबार बसेको विशेष साधारण सभाले आईसीसीले गठन गरेको सल्लाहकार समितिले बनाएको विधानलाई हुबहु पास गरेको छ।
यसले २ वर्षदेखि निलम्बनको मारमा परिरहेको क्यानको निलम्बन फुकुवा हुने बाटो पनि प्रशस्त बन्यो। क्यानलाई वैशाख २०७३ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले निलम्बन गरेको थियो। क्यानको विशेष साधारण सभामा केही बुँदालाई थाती राखेर सल्लाहकार समितिको विधानलाई पास गरेको हो। साथै चुनाव हुने सम्भावना पनि हिजै समाप्त भएको थियो।

क्यानका महासचिव अशोकनाथ प्याकुरेलले केही बुँदालाई भविष्यमा विचार गर्ने भन्दै विधान पास गरेको नेपाल समाचारपत्रलाई बताएका छन्। महासचिव प्याकुरेलले सबैभन्दा ठूलो विषय भनेको नेपाली क्रिकेटलाई बचाउने भन्दै बताए– ‘हाम्रा केही बुँदा भविष्यमा छलफल गर्ने गरी विधानमा विना संशोेधन पास गरियो। पहिलो प्राथमिकता भनेको निलम्बन क्यानलाई फुकुवा गर्ने लक्ष्य हाम्रो छ। यसैले ती नमिलेका बुँदालाई हामीले थाती राख्यौं। विधान पास भएपछि क्यान निलम्बन फुकुवा हुने विश्वास गर्न सकिन्छ।’

पछि यी बुँदा बारे छलफल नहुने हो कि भन्ने प्रश्नमा महासचिव प्याकुरेलले बताए– त्यस्तो हुँदैन। विधान भनेको भविष्यमा संशोधन गर्न सकिन्छ। पहिले त क्यानको निलम्बन त फुकुवा गर्नु प¥यो। ती बुँदामा हामी पछि छलफल गर्न सकिन्छ।

पास भएको विधानलाई अब राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पठाउनेछ। राखेपले अध्ययन गरेर यसलाई पास गरेपछि अनुगमन समिति निर्माण प्रक्रिया अघि बढ्नेछ। यसपछि मात्रै आईसीसीबाट क्यान निलम्बन फुकुवा हुने प्रक्रिया हुने महासचिव प्याकुरेलले बताएका छन्। उनले बताए– ‘हाम्रोतर्फबाट कुनै समस्या अब हुने छैन। पहिले पनि हामीमाथि अपजस आइरहेको थियो। तर हामीले आईसीसीले चाहेको जस्तो विधान पास गर्न जुन भूमिका खेले त्यसले अब आईसीसीबाट निलम्बन फिर्ता लिनुपर्ने नै हुन्छ।’

अहिलेको विधानमा निर्वाचित क्यानका केन्द्रीय समितिका १७ जना सदस्यले निर्वाचन प्रक्रियामा भाग लिने पाउने छैनन्। तर उनीहरूले साधारणसभामा भाग लिन भने पाउनेछन्। त्यस्तै सो विधानमा अबको निर्वाचन प्रक्रियाजस्ता अन्य विषय अवलोकन गर्न ५ सदस्यीय (पहिला ७ सदस्यीय थिए) अनुगमन समिति बन्ने वैधानिक व्यवस्था गरिएको छ। आईसीसीका ३ सदस्यसहित राष्ट्रिय खेलकुद परिषद् र निर्वाचित क्यानका १÷१ जना प्रतिनिधि हुने यो समितिले प्रदेश र केन्द्रको निर्वाचन गराउनेछ।

क्यानको साधारण सदस्यको हकमा दायरा फराकिलो गरिएको छ। न्युनतम ३ वटा राष्ट्रिय प्रतियोगिता खेलेका वर्तमान खेलाडीले पनि क्यानको साधारण सदस्यता लिन सक्नेछन्। यसअघि पूर्वखेलाडीले मात्र पाउने प्रावधान विधानमा राखिएको थियो। यसमा महासचिव प्याकुरेलले बताए– ‘वर्तमान खेलाडीले क्यानको सदस्य पाउने हो भने उनले खेल्ने कि काम गर्ने ? यसमा हाम्रो कुरो मिलेको छैन। दुईवटा भूमिकामा खेलाडीले कसरी काम गर्न सकिएला ? यसबारे भविष्यमा छलफल गर्ने हिसाबले यसमा हामीले सहमति जनाएका छौंै।’

यसअघि युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले क्यानको विशेष साधारण सभाको उद्घाटन गर्नुभएको थियो। साधारण सभामा ३७ मध्ये मकवानपुरबाहेक सबै र केन्द्रीय समितिका १५ गरी ५१ जनाको उपस्थिति थियो। पहिले सहमतिमा जान अलि गाह्रो भइरहेको थियो। साधारणसभा लम्बिएर झण्डै चुनाव हुने छाँटकाँट देखिएको थियो। तर पछि सबै जना सहमतिमा आइसकेपछि विधान पास भएपछि चुनावको संभावना पनि समाप्त भयो।

प्रतिक्रिया दिनुहोस्