चिनियाँ राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गर्ने



बेइजिङ, (एजेन्सी)
चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरिया भ्रमणको तयारीमा लागेको एक जना अधिकारीले सीएनएनसँगको कुराकानीका बताएका छन्। सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुखका रूपमा सत्ता सम्हालेपछि चिनियाँ नेताको उत्तर कोरियाको यो पहिलो भ्रमण हुनेछ।

आफ्नो नाम खुलाउन नचाहेका ती अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको प्रस्तावित शिखर सम्मेलनपछि सकेसम्म चाँडै राष्ट्रपति सीको भ्रमण हुने बताए। ट्रम्प र किमबीचको उक्त शिखर सम्मेलन मे वा जुनको शुरुआतमा हुने अनुमान गरिएको छ।

उत्तर कोरिया र लामो समयदेखि उसको मित्र चीनबीचको सम्बन्ध गत मार्चमा किम आकस्मिक बेइजिङ भ्रमणपछि अझ न्यानो भएको छ। उत्तर कोरियाली सञ्चार माध्यमले प्योङयाङ भ्रमणका लागि किमको यात्राका क्रममा दिएको निम्तोलाई सीले स्वीकार गरेको जनाएको थियो।

हालैका हप्तामा कोरियाली प्रायद्वीपमा पछिल्ला कूटनीतिक विकासक्रमले तीव्रता लिइरहेको छ। ट्रम्पले अमेरिका–उत्तर कोरियाको ऐतिहासिक शिखर सम्मेलनका लागि स्थलगत कार्य अघि बढाउने क्रममा अप्रिलको शुरुआततिर सीआईएका निर्देशक माइक पोम्पिओले उत्तर कोरियाको भ्रमण गरी किमसँग भेटेको बताए।गत हप्ता मात्रै माइक पोम्पियोले उत्तर कोरियामा किमसँग भेटेका थिए।

उनीहरूबीचको बैठक अत्यन्त सौहार्द भएको र राम्रो सम्बन्ध स्थापित गरेको बताइएको छ। शिखर सम्मेलनका लागि विस्तृतरूपमा काम भइरहेको छ। विश्वलाई परमाणुरहित बनाउनु ठूलो कुरा हो र उत्तरकोरियाका लागि पनि हो।

अर्को हप्ता किमले उत्तर कोरियालाई कूटनीतिक दिशामा ल्याउने दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग दुई देशबीचको असैनिक क्षेत्रमा भेटवार्ता गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्