प्राचीन भारतमा इन्टरनेट रहेको दाबी विवादास्पद



नयाँदिल्ली, (एजेन्सी)
हजारौं वर्षअघि प्राचीन भारतीयहरूले इन्टरनेटको आविष्कार गरेको दाबी गर्ने एकजना भारतीय मन्त्रीको सबै क्षेत्रबाट उपहास भइरहेको छ। उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवले मंगलबार साँझ एक सार्वजनिक कार्यक्रममा सो दाबी गरेका थिए।

उनले प्राचीन हिन्दू धार्मिक ग्रन्थ महाभारतलाई उदाहरण दिँदै त्यस्तो दाबी गरे तापनि धेरैले उनको कुरा रुचाएनन्। मुख्यमन्त्रीको यस भनाइविरुद्ध थुप्रै भारतीयले ट्विटरमार्फत उपहास गरिरहेका छन्।

वास्तवमा सत्तारूढ हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीको सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अन्य थुप्रै मन्त्रीहरूले पनि वर्तमान आधुनिक वैज्ञानिक वा प्राविधिक उपलब्धि हजारौं वर्षअघि नै आविष्कार भएको दाबी गर्ने गरेका छन्।

सन् २०१४ मा मोदीले मुुम्बईको एउटा अस्पतालका डाक्टर र मेडिकल स्टाफको भेलामा प्राचीन कालमै भारतमा कस्मेटिक सर्जरीको अस्तित्व रहेको बताएका थिए।
गत सेप्टेम्बरमा मात्र सहायक शिक्षा मन्त्री सत्यपाल सिंहले हवाईजहाज पहिलोपटक प्राचीन हिन्दू धार्मिक ग्रन्थ रामायणमा उल्लेख गरेको बताउँदा सबैले आश्चर्य प्रकट गरेका थिए। आलोचकहरूले मन्त्रीहरूको यस्तो चालालाई खतरनाक बताएका छन्।

देवले महाभारतको कुरुक्षेत्रले प्राचीन भारतमा इन्टरनेट मात्र नभई भू–उपग्रह प्रविधिसमेत रहेको प्रमाणित गरेको बताएका छन्। उनले महाभारतका पात्र सञ्जयले थुप्रै माइल टाढा भइरहेको कुरुक्षेत्रको युद्धबारे आफ्ना राजा धृतराष्ट्रलाई प्रत्यक्षरूपमा सुनाउन सक्नु नै ती दुवै प्रविधि त्यतिबेला नै रहेको प्रमाण भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्