‘देशभर अझै तीन लाख बालबालिका विद्यालय बाहिर’



कलैया । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा आर्थिक क्रान्तिको खाँचो रहेको बताउनुभएको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नं ७ मा रहेको सरस्वती विद्या मन्दिर आधारभूत प्राविको आयोजनामा आज लक्षित वर्गका विद्यार्थी भर्ना अभिभावकत्व ग्रहण तथा पाठ्यपुस्तक वितरण कार्यक्रममा मन्त्री पोखरेलले शिक्षाको विकासका लागि अभियान देशभरि नै सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले देशभरिमा करीब तीन लाख बालबालिका विद्यालय बाहिर रहेको जानकारी दिँदै तिनीहरुको विद्यालयसम्म कसरी पहुँच गराउन सकिन्छ भन्ने विषयमा सरकारले गृहकार्य गरिरहेको प्रष्ट पार्नुभयो ।

सो अवसरमा पाँचजना दलित बालबालिका आशिष पासवान, रोशनीकुमारी मली, प्रीति मलिक, नीशाकुमारी मलिक, विपिनकुमार पासवानलगायतलाई क्रमशः कलैया उपमहानगरपालिकाका प्रमुख राजेशराय यादव, प्रदेश सांसद महम्द समिर, विद्यालय निरीक्षक अशोक रौनियार, प्रदेश सांसद पारस साह र समाजसेवी गीता प्रधानले ती दलित समुदायका बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।

कलैया उपमहानगरनगरपालिकाका प्रमुख यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सांसद रामबाबुकुमार यादव, प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, जिल्ला शिक्षा अधिकारी लालबाबु साह, शिक्षक विनोद पासवानलगायतले आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्